अमेरिकी इलेक्टरल कलेजका सदस्यद्वारा बाइडेनको जित भएको पुष्टि

622
views

एजेन्सी, ३०, मंसिर । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् । अमेरिकी प्रणाली अनुसार मतदाताहरूले इलेक्टरलहरूलाई मत दिन्छन् र उनीहरुले नै चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् ।

यो प्रक्रिया राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो । इलेक्टरल कलेजका सदस्यले जीत घोषणा गर्ने प्रक्रिया पुरा भएपनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार अझै गरेका छैनन् ।

नोभेम्बरमा भएको चुनावमा डेमोक्रेट बाइडेनले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ मत ल्याएका थिए । मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ ।

६ जनवरीमा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा त्यसको औपचारिक रुपमा गणना गरिने छ । त्यसले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडेनलाई बाटो खोल्नेछ ।