सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि (नेकपा) कार्यकारी अध्यक्ष दाहाल आक्रोशित

768
views

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आक्रोशित भएका छन्।

फाईल तस्बिर

यसअघि गत वैशाख पहिलो पटक ल्याएर फिर्ता भएको अध्यादेश फेरि जारी गरिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले तुरुन्त खारेज गर्न माग गरेका हुन्।

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले थाहाखबरलाई बताए अनुसार यो अध्यादेश तत्काल फिर्ता हुनुपर्ने अडान उनले राखेका हुन्।

यसअघि वैशाखमा पनि सबे दलबाट विरोध भएपछि फिर्ता भएको अध्यादेश आउनु आपत्तिजनक छु, दाहालको भनाइ उद्धृत गर्दै सापकोटाले भने, यो बेला सबै दलले संसद अधिवेशन बोलाउन भनिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रकै उपहास हो। यो बदनियतपूर्ण अध्यादेश तत्काल खारेज हुनुपर्छ।

सभामुख अग्‍निप्रसाद सापकोटाले मंसिर २८ र मंसिर ३० को संवैधानिक परिषद् बैठक बहिष्कार गरेर निर्णय हुन नसकेपछि सरकाले अध्यादेश ल्याएको हो।

यसअघि अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै संवैधानिक परिषद्को बैठक बस्‍न सक्थ्यो। तर सरकारले अध्यादेश ल्याएसँगै अध्यक्ष र तीनजना सदस्यको उपस्थितिमा निर्णय लिने बाटो खुलेको छ।

प्रधानमन्त्री केपी ओलीले पार्टीमा परामर्श नगरी संवैधानिक परिषद् बैठक बोलाएको आरोप दाहालसहितले लगाउँदै आएका छन्। पार्टीमा सल्लाह नै नभएको अवस्थामा बैठक बोलाइएपछि ल्याप्चेु हान्‍न मात्रै नजाने भन्दै बहिष्कार गरेका हुन्।

सभामुखले बहिष्कार गरेपछि ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेश ल्याउने निर्णय गरेका थिए।

यो अध्यादेशको कांग्रेसले समेत विरोध गरेको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बैठकमा नजाने बताइसकेका छन्।