जलजला गाउँपालिकामा मजदुरका लागि सञ्चय कोष

624
views

पर्वत, ६, पुस । पर्वतको जलजला गाउँपालिकामा मजदुर सञ्चय कोष स्थापना गरिएको छ । गाउँपालिकामा रहेका ज्यालादारीमा काम गर्ने मजदुरको हितका लागि उक्त कार्यक्रम शुरु गरिएको अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिए ।

जलजला गाउँपालिकाले अघि सारेको उक्त कार्यक्रममा ज्याला मजदुर सुचिकृत हुखनेछन् आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले भने दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई ६० बर्षपछि पेन्सन स्वरुप गाउँपालिकाले प्रतिमहिना जम्मा गरिदिने ५०० र स्वयं मजदुरले जम्मा गर्ने मासिक पाँचसय रुपैयाँ वृद्धाअवस्थापछि राहत हुनेछ ।’

गाउँपालिकाले ल्याएको नयाँ कार्यक्रममा शुरुमा ५० बर्षदेखि माथिका मजदूरहरुले सञ्चय कोषमा रकम जम्मा गर्नेछन् । उक्त कार्यक्रम सञ्चयकोष कार्यालय मार्फत लागु गर्ने तयारी भइरहेको अध्यक्ष मल्लले वताए । यस कोषबाट जलजला गाउँपालिकाका झण्डै दुईहजार भन्दा बढी संख्यामा रहेका मजदुरहरू लाभान्वित हुने गाउँपालिकाका प्रशासकीय अधिकृत अजुर्न शर्माले बताए ।

शर्माले गाउँपालिकाभित्रका विपन्न मजदुरको लगत संकलन शुरू गरिएको र पहिलो चरणमा एकघर एक मजदुरलाई मात्रै यो कार्यक्रममा सहभागी गराइने छ । शर्माले कार्यक्रम प्रभावकारी हुँदै जाँदा आर्थिक श्रोत खोजी गरी बढाउन सकिने समेत जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडामा वाइफाइ लैजाने, सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने, गाउँपालिकाभित्र रहेको सार्वजनिक सम्पत्तिको लगत संकलन गरि त्यसको अधिकतम उपयोगमार्फत गाउँपालिकाको आन्तरिक आयलाई बलियो बनाउने र गाउँपालिकाको मुख्य आयश्रोतका रूपमा रहेको ढुङ्गा गिट्टी बालुवाको संकलन तथा विक्री वितरण प्रणालीलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको अध्यक्ष मल्लले बताए ।

गाउँपालिकाले व्यक्तिले अधिकग्रहण गरेको तथा अलपत्र रहेको १४ हजार रोपनी सार्वजनिक जग्गा गाउँपालिका मातहतमा ल्याई सरकारी सम्पत्तिको संरक्षणमा समेत लागेको मल्लले बताए ।