अफ्रिका र बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता

489
views

एजेन्सी । बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस भेटिएपछि विश्वभर चिन्ता बढेको छ । ४० भन्दा धेरै देशहरूले बेलायतमा यात्रा प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतसँग नजिक रहेको युरेपेली संघ अन्तर्गतका मुलुकहरूले एक साझा नीति बनाउन छलफल थालेका छन् ।

डेनमार्कमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । स्वीडेनले डेनमार्कमा हुने यात्रामा प्रतिबन्ध लगाइदिएको छ ।

प्रकृति बदलेको भाइरसको नयाँ स्ट्रेन निकै संक्रामक रहेको बताइएको छ । तर यो पहिलेभन्दा निकै घातक छ भन्ने पुष्टि भइसकेको छैन ।

एकातर्फ बेलायतसँग यात्रा प्रतिबन्ध लगाउने मुलुकको संख्या बढिरहेको छ भने अर्कातर्फ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यससँग जोडिएको खतराबारे महत्वपूर्ण जानकारी दिएको छ ।

संस्थाका इमर्जेन्सी चिफ माइक रायनले महामारी फैलँदै गर्दा नयाँ प्रकृतिको भाइरस फैलनु स्वाभाविक भएको बताएका छन् । यो नियन्त्रणभन्दा बाहिर नभएको उनको दावी छ । तर बेलायती स्वास्थ्य सचिव म्याट हेनककले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण गर्न नसकिने खालको रहेको बताएका थिए ।

यतिखेर धेरै देशहरूले दक्षिण अफ्रिकाबाट आउने मानिसहरूमाथि पनि यात्रा प्रतिबन्ध लगाएका छन् । त्यहाँ पनि भाइरसको नयाँ प्रजाति भेटिएको थियो । अफ्रिकामा भेटिएको यो भाइरस बेलायतमा भेटिएकोभन्दा फरक छ ।

केही विशेषज्ञहरूले नयाँ प्रकृतिको कोरोना भाइरस भेटिनुको अर्थ ती देशमा फैलिसकेको भनी बुझ्नुपर्ने बताएका छन् ।

बेल्जियमस्थित रेगा इन्स्टिच्युट फर मेडिकल रिसर्चका एक महामारीविज्ञ मार्क वान रानस्थले भनेका छन्, ’आगामी दिनमा नयाँ प्रकृतिको कोरोना भाइरस विश्वका धेरै देशमा देखिनेछ ।’