संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उपलब्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि तयार छौंः प्रचण्ड

560
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहनुपर्ने बताएका छन्।

फाईल फोटो

बबरमहल स्थित कार्की ब्याङक्वेटमा बिहीबार आफ्नै समुहको केन्द्रिय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले संविधान र गणतन्त्रविरुद्ध भएको संसद विघटनको प्रतिकारमा उत्रन सबै दलका नेता कार्यकर्तालगायत सबैलाई आह्वानसमेत गरे।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले देशमा अहिले जुन प्रकारको घटनाक्रम देखा परेको छ त्यो सामान्य नभएर ठूलो बलिदानीलाई संघर्षबाट प्राप्त गरेको ऐतिहासिक राजनीतिक परिवर्तन र त्यो परिवर्तनलाई संस्थागत गर्ने संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्रको कडिका रुपमा आएको र हामीले फेरि एकपटक ऐतिहासिक राजनीतिक परिर्वतनको रक्षा गर्न, संविधान र लोकतन्त्रको रक्षा र सुद्धिकरण गर्न र यो देशलाई समृद्ध नेपाल बनाएर समाजवादको दिशातिर अघि वढाउन ठुलो संकल्प गर्दै दृढ संकल्प गर्दै संघर्ष गर्न तयार रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।’

प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनीधिसभाको कथित विघटनविरुद्ध उठाउनुभएको आवाजलाई सम्मान गर्दै त्यसका लागि धन्यवाद दिँदै संघर्षमा अझ दृढतापूर्वक एकताबद्ध भएर अघि बढ्न उहाँ (प्रचण्ड)ले सम्पूर्ण पार्टी, नागरिक समाज, बुद्धिजीवी र प्रेस जगतलाई अपिलसमेत गर्नुभएको छ।’

विघटन भइसकेका पूर्व पार्टीलाई बिउत्याउन खोज्ने पार्टी विरोधी षयन्त्र सफल हुन नदिने भन्दै उनले एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीको रुपमा विकसित गर्ने विश्वास पनि व्‍यक्त गरेका छन्।

दुई समुहमा विभाजन भएको नेकपाको आफ्नो समूहको भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ गरिने दाबीसमेत गरेका थिए।