ओली समूहले गर्यो प्रचण्डलाई कारबाही

469
views

काठमाडौं, ९, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पुष्पकमल दाहाल प्रचण्डलाई कार्वाही गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन ।

ओली समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ । बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ ।

प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् ।

बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् । टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।