ओली समुहका दुई मन्त्री एक सांसद प्रचण्ड–नेपाल समुहमा फर्के

714
views

काठमाडौं, २०, पुस । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको समुह छाडेका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकायले ओली समुह छाडेर प्रचण्ड–माधव समुहमा फर्किएका हुन् ।

कर्णाली प्रदेशमा रावल र बुढा ओली पक्षबाट मन्त्री बनेका थिए । ४१ सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सदस्य सांसद थिए । जसमा तीन जना थपिएसँगै प्रचण्ड–नेपाल समुहसँग २२ सदस्य पुगेका छन् । ओली पक्षमा हालसम्म सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य छन् ।

पछिल्लो समीकरणसँगै प्रदेशसभामा महेन्द्रबहादुर शाही सरकार बहुमतसहित सुरक्षित देखिएको छ ।

यसअघि गत असोज २५ मा महेन्द्रबहादुर शाहीविरुद्व ओली पक्षीय नेता यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । पार्टी एकिकृत अवस्थामै रहेको बेला १८ सांसदले हस्ताक्षर गर्दै शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उक्त समय साबिक माओवादीका तर्फका ४ सांसदमा पनि ओली पक्षमा देखिएका थिए । जुन पछिल्लो विभाजनसँगै भने धुव्रिकृत बनेको छ ।