मसोट खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत

782
views

२१ चैत, घोराही । दाङको लमही–घोराही सडकखण्डको मसोट खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको बुटवल सैनामैनाका यादव खनाल छन् ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस शुक्रबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा २९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई बाँकेको कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ ।

मध्यम घाइते छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् ।बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।