सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ

522
views

धनगढी । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।

प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।

‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ’ बरिष्ठ कृषि विकास अधिकृत जोशीले भने, ‘मंगलबारसम्म करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।’ जोशीले अघिल्ला वर्षको तुलनामा धेरै रोपाइँ सकिएको बताए। गत वर्षमा अहिले ३०–३२ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए।

यसवर्ष प्रशस्त मात्रामा प्राकृतिक मनसुन भएका कारण किसानले समयमै धान रोप्न पाएका छन्’ उनले भने,‘किसानहरुमा जनचेतना वृद्धि हुनु र प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले सिँचाइ सुविधा विस्तार गर्नाले पनि रोपाइँ समयमै भएको देखिन्छ।’

सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करीब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ। बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिदै आएको छ।

कुन जिल्लामा कति रोपाइँ सकियो रु

प्रदेश कृषि निर्देशनालयका अनुसार सबैभन्दा धेरै धान खेती हुने कैलालीमा मंगलबारसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ। कैलालीमा झण्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।

कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, बाजुरामा ५५, अछाम, बैतडी, बझाङ र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।