हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

457
views

हुम्ला, ३०, असार । हिमाली जिल्ला हुम्लाको एकमात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध छ । मङ्गलबार बिहानदैखि कुहिरो लाग्ने र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको जानकारी दिए ।

एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने, पानी पर्ने भइरहेका कारण नेपालगञ्ज र सुर्खेतमा जहाजहरू सिमकोटका लागि उडान भर्न नसकेको कटुवालले जानकारी दिए ।

हवाई सेवा अवरुद्ध भएपछि जिल्लामा भित्रिने ९० जना र जिल्ला बाहिर जाने ७८ जना यात्रु रोकिएका छन् ।

उडान अवरुद्धसँग त्यससँगै खाद्यान्न, विकास निर्माण सामग्री र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । यसले विकासे काममा समेत बाधा पु¥याएको छ ।

हवाई सेवा सुचारु नहुँदा तरकारी तथा मासुको पनि समस्या देखिएको छ । त्यसैगरी हवाई सेवा सुचारु नभएपछि राष्ट्रिय वाणिज्य बैङ्कका लागि नेपालगञ्जबाट ल्याउनुपर्ने पैसा पनि रोकिएको छ ।

सिमकोटमा तारा, सीता र समिट एयरका जहाजहरूले दैनिक १५ भन्दा बढी उडान भर्दै आएका थिए ।