कर्णालीमा ११५ जनामा कोरोना संक्रमण पुष्टि

389
views

सुर्खेत । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियान अन्तर्गत ‘तपाईँको मास्क खै ? कार्यक्रम अघि सारेका छन्।

प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ ।

सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा संक्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पिसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए ।
‘कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन,’ निर्देशक डा खड्काले भने, ‘शनिबार ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन्।’

उनका अनुसार प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको कुल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ। हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पिसिआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।

तपाईको मास्क खोइ कार्यक्रम अन्र्तगत १५८ जनालाई कार्वाही
सुर्खेत । तपाईको मास्क खोइ कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५८ जनालाई कार्वाही गरेको छ ।

कोरोनाको जोखिम दिनहुँ बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले चारदिनमा १५८ जनालाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कोरोनाको दोस्रो भेरियन्ट भित्रिएसँगै कोरोनाको जाखिम पनि दिनहुँ बढ्दै गएको र नागरिकले मास्क नलगाउदा यस्तो अभियान चलाउन परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारि राम प्रसाद घर्तीले जानकारि दिए ।

उनका अनुसार सुर्खेत जिल्लाभित्र तपाईको मास्क खोई अभियान मार्फत १५८ जनालाई कार्वाही गरिसकेको र पन्ध्रहजार आठ सय राजश्व उठेको छ,’ उनले भने,‘र अझै यो कार्यक्रम जोखिम कम नहुन्जेलसम्म चल्ने छ ।