कुनै कार्यकारी पदमा बस्दिनः खनाल

343
views

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताएका छन्।

भारतमा मृर्गौला प्रत्यारोपण गरेर फर्किएपछि विमानस्थलमा भएको स्वागत कार्यक्रममा बोल्दै भने, ‘उमेरले ७१ वर्ष पार गरिसके। पछिल्लो सर्जरीपछि पाएको नयाँ जीवन मेरो नाफाको बोनसको जीवन हो। अब सास रहुञ्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढीकरणमा लाग्छु।’

उमेरले पनि नसक्ने भएकाले अब कुनै कार्यकारी पदमा नबस्ने उनले घोषणा गरे। पार्टीले दिएको जिम्मेवारीअनुसार नयाँ क्रान्तिकारी धारबाट समाजवादको लक्ष्यमा पुग्ने वातावरण तय गर्नमा जोड दिए।

‘नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको छ। हामीले पार्टी विभाजन गरेका होइनौं। विद्रोह गरेका हौं’ खनालले भने। एमाले आफूहरुले बनाएको पार्टी भएकाले आफ्नो नसानसमा भएको बताए।

भने, ‘एमाले हामीले निर्माण गरेको पार्टी हो। तर, पछिल्लो समय एउटा अहंकारी गुटले कब्जा गरेको छ। एमाले हाम्रो नसानसमा छ। पार्टीभित्रैबाट संघर्ष गर्न खोज्दा दक्षिणपन्थी शक्तिसँग लागेको अहंकार र व्यक्तिवादको कारणले हामी सफल भएनौं।’ समाजवादको लक्ष्यमा जानको लागि एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे।

‘हामीले निजी स्वार्थ लिएर होइन। सामूहिकतालाई लिएर समाजवादको आन्दोलनतर्फ अगाडि बढ्दैछौ। त्यतातर्फ सबैले ध्यान दिनुपर्छ। क्रान्तिकारी विचारको साथ अगाडि बढ्नुपर्छ कसैको भ्रममा पर्नु हुँदैन’ उनले भने।

भारत जाँदा धेरै भारी मनकासाथ पार्टी एकताको आह्वान गरेर गएको उनले बताए। सर्वोच्च अदालतको फैसलापछि नयाँ राजनीतिक कोर्स भएको उनको भनाइ छ।

‘केपी ओली सरकार ढल्नु भनेको दक्षिणपन्थी अवसरवादी सरकार ढलेको हो। केपी ओली सरकार कम्युनिष्टको नाममा बदनाम गरेको सरकार थियो’ खनालले भने।

लोकतन्त्र, संविधान कलिलो भएकाले गठबन्धनलाई कायम राखेर त्यसको रक्षा गरेर समाजवादको भविष्य निर्धारण गर्नुपर्ने बताए।