इजरायल जाने कामदारको परीक्षा भाद्र २८ गते

573
views

काठमाडौं । सरकारले इजरायल जानका लागि दरखास्त दिएका कामदारहरुको लिखित परिक्षा यहि भाद्र २८ गते गर्ने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा लिने भएको हो । अंग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ ।

विभागले सूचना निकालेर परीक्षा केन्द्र र प्रवेशपत्र अनलाइनबाटै लिइन सक्ने जनाएको छ । वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त मागेको थियो। त्यसमा १० हजार आवेदन परेको छ ।

इजरायल रोजगारीका लागि विभागले अनुमति लागत १ लाख ६५ हजार तय गरेको छ । इजरायलका लागि जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान गरेको छ ।

त्यस्तै, पासपोर्ट बनाउने खर्च ५ हजार, अभिमुखी तालिम र मेडिकलका लागि अनुमानित १० हजार रुपैयाँ गणना गरिएको छ। साथै, कल्याणकारी कोषका लागि दुई वर्षको भिसा हो भने १ हजार ५ सय र तीन वर्षका लागि हो भने २ हजार ५ सय लाग्ने अनुमान गरिएको छ। इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।