‘सरकारलाई परमादेश र जनादेश प्राप्त छ’, एमसीसी नेपालको हितमा छ

426
views

काठमाडौँ, ३, कात्तिक  । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार परमादेश र जनादेश प्राप्त सरकार रहेको बताएका छन् । प्रधानमन्त्रीले गोरखापत्र दैनिकसँगको कुराकानीमा सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त सरकार भएको बताएका हुन् ।

देउवाले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले संक्रमण अन्त्य भएर मुुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताउँदै एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेकोले यसमा विवाद गर्नु आवश्यक नभएको र यसलाई छिटो पारित गर्नुपर्ने बताए ।

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै  “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।” अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ भने ।

कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले “नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको बताए ।

संयुक्त अधिराज्य बेलायतले नेपाललाई रेड जोनबाट हटाएको छ र अन्य देशले पनि सहयोग गरेका छन् भन्दै नेपाललाई सबै देशले सहयोग गरेको उहाँले स्पष्ट पारे । विश्व स्वास्थ्य सङ्गठनले नेपालले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलतामा बधाई दिएको जानकारी दिदै प्रधानमन्त्रीले अहिले मानिसहरू आफ्नो पेसा र व्यवसायमा फर्केका छन्, यसलाई हामीले उपलब्धिका रूपमा लिनुुपर्ने बताए ।

अघिल्लो सरकारले गरेका निर्णयमा पुुनर्विचार हुन्छ कि भनिराखिएको जिज्ञासामा प्रधानमन्त्रीको भनाइ छ, “अघिल्लो सरकारका सबै नियुक्ति खारेज गर्नुपर्छ भन्नेचाहिँ होइन तर यसलाई विधिसम्मत गराउने र सच्चाउने प्रक्रिया यो सरकारले थालिसकेको छ ।