दुई लाख ६९ हजार मेट्रिक टनभन्दा बढी धान क्षति

370
views

काठमाडौँ, ८, कात्तिक । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाढीका कारण कृषितर्फ ७१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा आठ अर्ब २१ करोड रुपियाँ बराबरको क्षति पुगेको जनाएको छ । विवरणअनुसार दुई लाख ६९ हजार ८४२ मेट्रिक टन धान क्षति भएको छ ।

कृषि मन्त्रालयले आइतबार उपलब्ध गराएको विवरणअनुसार बाढीका कारण एक लाख ७१ हजार ७६ हेक्टर क्षेत्रमा लगाइएको धानमा असर गरेको छ भने ७१ हजार हेक्टर क्षेत्रफलमा पूर्ण क्षति गरेको छ । हालसम्म मन्त्रालयबाट प्राप्त विवरणअनुसार सबभन्दा बढी लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ, सुदूरपश्चिममा एक अर्ब ९१ करोड करोड रुपियाँ र प्रदेश १ मा ८० करोड रुपियाँ बराबरको धान बालीमा क्षति पुगेको छ ।

प्रदेश २ को प्रारम्भिक विवरणअनुसार ५६ करोड रुपियाँ बराबरको क्षति भएको छ भने गण्डकीमा १३ करोड, कर्णालीमा ४२ करोड ३३ लाख र बागमती प्रदेशमा पाँच करोड ८१ लाख २७ हजार रुपियाँ बराबरको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाएको बालीमा बाढीले क्षति भएको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रुपन्देहीमा सबभन्दा ठूलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन । गोरखापत्र अनलाईनबाट