निः शुल्क आँखा शिविरमा ७७ जनाको अप्रेशन

566
views

बाग्लुङ, ५, मंसिर । पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले बाग्लुङमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षण पछि समस्या देखीएकाहरुको अप्रेशन समेत गरिएको थियो ।

क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनको लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कर्मश र बुर्तिबाङ राईजिङ युथ क्लबले सहयोग गरेका थिए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, स्थानिय वासिन्दासगै वरिपरिका क्षेत्रबाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंवं निःशुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन् ।

शिविरमा आठ सय ९२ जनाको आँखा परिक्षण सगै आवश्यक औषधी वितरण गरिएको थियो । आँखा जाच गरेकाहरुमध्ये ७७ जनाको आँखामा समस्या देखीएपछि उनिहरुको अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिईन । ७७ जनामध्ये सात जनाको दुबै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखी आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचार पछी आँखा देख्न सफल भएका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

क्लवले यस अघि पर्वतको मोदि गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा, पर्वतको मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशि लगायतका स्थानमा निःशुल्क आँखा शिविर संचालन गरिसकेको छ । यसैगरि हिमालय आँखा अस्पताल पोखरालाई करिव आठलाख मुल्य बरावरको आँखा जाच्ने मेसिन सहयोग गरेको थियो ।