रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने अमेरिकी राष्ट्रपतिको भनाई

718
views

काठमाडौं, ६, माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि हस्तक्षेप गर्नसक्ने बताउनु भएको छ । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा बाइडेनले रुसी राष्ट्रपतिले केही न केही गर्नसक्ने आफ्नो अनुमान रहेको तर रुसले पनि पूरै युद्ध भने नचाहेको बताउनुभयो । तर पश्चिमा देशहरुलाई परीक्षण गर्न खोज्नु रुसका लागि गम्भीर र महंगो पर्ने चेतावनी पनि बाइडेनले दिनुभयो । रुसले युक्रेनी सीमा नजिक आफ्ना एक लाख सैनिक तैनाथ गरेको भए पनि आक्रमणको योजना भने नरहेको बताउँदै आएको छ ।

रुसले अमेरिका र पश्चिमा शक्तिहरुलाई परीक्षण गर्न खोज्यो भने रुसले अहिलेसम्म नदेखेको नाकाबन्दी लगाउने भन्दै उसले गर्ने आक्रमणको स्केल अनुसारको दण्ड दिइने बताउनुभयो । पत्रकार सम्मेलनपछि ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले जारी गरेको वक्तब्यमा रुसी सेना युक्रेनभित्र प्रवेश गरेमा अमेरिका र उसको गठबन्धनले एकीकृत जवाफ दिने बताउनु भयो । राष्ट्रपति बाइडेनले रुससंग वार्ता र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग शिखर वार्ताको संभावना पनि नकार्न नसकिने पनि बताउनु भएको हो ।

यसअघि युक्रेनको भ्रमणमा पुग्नुभएका अमेरिकी विदेशमन्त्री एन्टोजी ब्लिङ्केनले रुसले निकै छिटो सूचना दिएर युक्रेनमाथि आक्रमण गर्नसक्ने बताउनु भएको थियो । ब्लिङ्केनले भोलि जेनेभामा रुसी विदेशमन्त्री सर्गेइ लाभारोबसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ईमेजखबरबाट