आठ जिल्लाका उखु किसानलाई सरकारले गर्यो भुक्तानी

572
views

काठमाडौं । विभिन्न चिनी मिललाई उखु दिएका आठ जिल्लाका किसानलाई सरकारले ७६ करोड ६१ लाख ४२ हजार दुई सय ९४ रुपैयाँ भुक्तानी गरेको छ ।

गत वर्ष सञ्चालनमा आएका १० चिनी उद्योगले एक करोड १९ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेका थिए । उखु क्रसिङ गरेका चिनी उद्योगबाट प्राप्त तथ्यांकका आधारमा किसानको खातामा सरकारले अनुदानबापत भुक्तानी गर्नुपर्ने प्रतिक्विन्टल ६५ दशमलव २० रुपैयाँका दरले रकम जम्मा गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइएको रकममध्ये पनि ७६ करोड ६१ लाख ४२ हजार दुई सय ९४ रुपैयाँ मात्रै किसानको खातामा पठाइएको छ । बाँकी रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमै छ ।

गत वर्षको उखु क्रसिङ गरेका किसानहरूको छुटफुट विवरण आइरहेकाले थप रकम किसानको खातामा पठाइने मन्त्रालयले जनाएको छ ।