अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

397
views

काठमाडौं, १३, चैत्र  । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।

निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन ।

२०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम थियो । गत मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा करिब १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।

आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ ।