चिनीको मूल्य वृद्धि किन भयो ? व्यापारीसँग वाणिज्य विभागको प्रश्न

399
views

असार ३, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीहरु लाई निर्देशन दिएको छ ।

भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीहरु लाई बोलाएर मूल्य बढ्नुको कारण के हो? के कारण वढ्यो ? भनी सोधेको छ ।चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबार छलफल गरेका थियौं,’ महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौं ।’

खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’ होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको ती व्यापारीले बताए ।

यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दाबी गरेको छ । संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनी सित्तैमा बाँड्ने वस्तु नभएको बताए । ‘उद्योगबाट बजारसम्म पुग्दा मूल्य त महँगीअनुसार बढ्छ त,’ अग्रवालले थपे, ‘भारतीय चिनी चोर बाटोबाट प्रशस्त मात्रामा भित्रिएका कारण बजारमा अभाव नहोला ।’ संघ अन्तर्गतका उद्योगबाट उत्पादीत ४० टन चिनी अहिले आफूहरुसँग मौज्दात रहेको पनि उनले बताए ।

 

 

खुद्रा बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने भर्खरै चिनी खरिदको प्रक्रिया थालेको जनाएको छ । एक सय टन चिनी खरिदका लागि केही दिनमै प्रक्रिया थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले जानकारी दिए ।

भन्सार विभागकाअनुसार वैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष यस्तो आयातको परिमाण १८ करोड ५२ लाख थियो भने कुल लागत ८ अर्ब ९१ करोड हाराहारी थियो । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुको भनाई रहेको छ ।