देउवालाई ओलीको चुनौती- चुनावअघि संशोधनको शब्दपनि उच्चारण हुँदैन

771
views

काठमाण्डौं, २७ असार । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच छलफल भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको थियो । तर प्रधानमन्त्री देउवाले संशोधन प्रस्ताव पारित गराउन सहयोग गर्न राखेको प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्विकार गरेका छन् । ओलीले चुनावअघि संशोधनबारे एक शब्दपनि उच्चारण नगर्न आग्रह गरेका थिए ।
छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमूख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।
जवाफमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राखको थिए । बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ थिए ।