पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले चुम्यो विश्वकप टी–२० को उपाधी

640
views

काठमाडौं, २७, कार्तिक । विश्वकप टी–२० २०२२ को उपाधी इंग्ल्याण्डले जितेको छ । आज आइतबार पाकिस्तानसँग भएको फाइनल खेलमा इंग्ल्याण्ड पाँच विकेटले विजय भएको हो ।

जितका लागि पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्गल्यान्डले १९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । इङ्ल्यान्डको जितमा बेन स्टोक्सलेले अविजित अर्धसतकीय इनिङ्स खेले । उनले सर्वाधिक ५२ रन बनाए । यस्तै कप्तान जोस बटलरले २६ रन बनाए । हेरी ब्रोकले २०, मोयन अलीले १९ र फिल साल्टले १० रन जोडे । बलिङमा पाकिस्तानका हरिस रफले दुई विकेट लिए । शहेन शाह अफ्रिदी, सदाव खान र मोहमद वासिमले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। कप्तान बाबर आजमले ३२, सदाव खानले २० र मोहमद रिजवानले १५ रन जोडे ।

अन्यब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्। पाकिस्तानलाई सस्तैमा समेट्न इङ्गल्यान्डका साम करनले तीन विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले दुई दुई तथा वेन स्टोक्सले एक विकेट झारे ।

सेमिफाइनलमा इङ्गल्यान्डले भारतमाथि १० विकेट र पाकिस्तानले न्युजिल्यान्डविरुद्ध सात विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए। इङ्गल्यान्ड र पाकिस्तान ३० वर्षपछि विश्वकपको फाइनलमा भिडेका हुन् । यसअघि सन् २००९ र २०१० मा भएको विश्वकपको समूह चरणमा इङ्गल्यान्डले पाकिस्तानलाई हराएको थियो ।