कन्सर्ट गरेर बचत १५ लाख रकमको अक्षयकोष, विपन्न विद्यार्थीलाई छात्रवृत्ति

380
views

कमला केसी
दक्षिण कोरिया, ३१, साउन । प्रदेशमा श्रमगरी निस्कने फुर्सदको समय नेपाल र नेपालीको सेवामा खर्च गर्ने उद्देश्यका साथ दक्षिण कोरियामा विभिन्न संघसंस्थाहरु स्थापना गरिएको छ । जिल्ला, प्रदेश, हुँदै विभिन्न जातजातिहरुका संघसंस्थाहरुले सक्रिय भएर काम गरिरहेका छन ।

बेलाबखत बिदाको समय पारेर यहाँ आयोजना हुने कार्यक्रमहरु केहि न केहि उद्देश्यका साथ सम्पन्न हुने गरेका छ्न । तर, सबै संस्थाले आफ्नो उदेश्य अनुरुप काम गर्न नसकेपनि दक्षिण कोरियास्थित रामेछाप सम्पर्क समितिले १५ लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ ।

उक्त अक्षयकोषबाट आएको ब्याज रकमले प्रत्येक बर्ष विपन्न एवं जेहन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति उपलब्ध गराउँदै आईरहेको अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । २०१६ मा स्थापना भएको संस्थाले कोरियामा रहेको नेपाली समाजमा अन्य संघ संस्थासंगै सहकार्य हातेमालो गर्दै सामाजिक कार्यमा निरन्तर अघि बढिरहेको छ ।

संस्थाले कोरियामा रहेका नेपाली समुदायमा भै–परि आउने आपत विपदमा नेपालमा पनि विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आईरहेको छ । संस्थाले रामेछापको दुर्गम भेगको शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रोत्साहन गर्नको निमित्त ग्रामिण भेगको अति विपन्न अल्पसंख्यक अनाथ बालबालिकालाई छात्रवृति प्रदान गरिरहेको अध्यक्ष नविन श्रेष्ठले बताए ।

उक्त संस्थाले अहिले आफ्नो चौथो कार्यकाल पुरा गर्दैछ । संस्थापक अध्यक्ष गोबिन्द गौतम हुँदै लगातार दोस्रो भिम खड्का, तेस्रो कार्यकालका लागि रविप्रताप घिसिङले नेतृत्व गरेको संस्थाको चौथो अध्यक्ष नविन श्रेष्ठ हुन् ।

सिन्धुपाल्चोक र दोलखासंग मिलेर सन् २०१९ मा मंगोलियन हर्ट कन्सर्ट एन्ड साङ्गितिक धमाका कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको नारा दुर्गम भेगको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्ने भनेको र नारा अनुसार कार्यक्रमबाट उठेको पैसाले सोहि अनुरुप काम गरिरहेको बर्तमान अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए ।

त्यतिमात्रै नभएर कोरोना माहामारीको बेला रामेछापका हरेक स्थानिय तहमा १० लाख रुपैयाँ भन्दा बढि मुल्यको महत्वपुर्ण स्वस्थ्य सामाग्री वितरण समेत गरिएको थियो ।