सुन तस्करी प्रकरण : सीआईबीले माग्यो इन्टरपोलको सहयोग

282
views

काठमाण्डौ, १०, भदौ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।

गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । सीआईबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । उज्यालो अनलाईनबाट