डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज

122
views

काठमाण्डौ, १५, कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज हुँदै छ । निर्देशक पदमा नेपालको तर्फबाट डब्ल्यूएचओ मै कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको तर्फबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले उम्मेदवारी दिएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ । बैठक गएको सोमवारदेखि शुरु भएको हो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

सैनिक शासन भएका कारण म्यानमारले मतदान गर्न नपाउने भएकोले १० वटा देशमात्रै मतदानमा सहभागी हुँदैछन् ।