प्रधानमन्त्री राहत कोषमा कांग्रेसले दियो ५० लाख

249
views

काठमाण्डौ, २१, कार्तिक । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो ।

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए । उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगतिमा अगाडी बढ्ने बताए ।

प्रधानमन्त्रीले आउँदो दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि पालिकामा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्नेलगायतका कामबारे छलफल भएको जानकारी दिए ।

आजै नेकपा (एकीकृत समाजवादी) ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।