सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

148
views

तनहुँ, २५, पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिए ।

पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक विकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा नं. ४, ५ र ६ गरी तीन वटा वडामा यो कार्यव्रmम सञ्चालन गरिएको छ ।

कार्यव्रmम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक नियम, कानुन निर्माण गरी बजेटसमेत व्यवस्थापन गरिसकेको छ । प्रतिव्यक्ति सात सय रुपियाँका दरले गाउँपालिकाले प्रिमियम तिरिदिएपछि बिमितले एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने छन ।

सम्बन्धित विद्यालयको सिफारिसको साथमा वडाबाट विद्यार्थी र अभिभावकको विवरणसहितको सिफारिस सङ्कलन गर्ने, बिमा फाराम भर्ने र नवीकरण गर्नेलगायतका काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार माघसम्ममा वडा नं. ४, ५ र ६ का सम्पूर्ण विद्यार्थी र तिनका अभिभावकको स्वास्थ्य बिमा हुने छ ।

सामुदायिक विद्यालयमा अध्ययन गराएमा प्रतिपरिवार तीन हजार पाँच सय रुपियाँ गाउँपालिकाले नै तिरेर स्वास्थ्य बिमा गर्ने जानकारी शर्माले दिए ।

सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ५ सम्मका सबै एक हजार दुई सय विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भवनतर्फ गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्कबेन्च फेर्नेलगायतका काम चैत मसान्तसम्ममा पूरा गरिसक्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिमा जोड्ने काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले केही ठाउँका विद्यालय पुग्न विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले त्यस्तो ठाउँमा ‘विद्यालय बस’ सञ्चालन गरिएको बताए ।

अभियान अन्तर्गत सिकाइ गुणस्तरतर्फको पक्षमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि ‘एनुअल स्ट्याटस’ वा ‘एजुकेसन रिपोर्ट’ तयार पार्ने तथा विद्यार्थी, शिक्षक, समुदाय लगायतमा रहेका समस्या पहिचान गरी समाधान गर्ने काम भइरहेको छ ।