म्याग्दीमा असी लाख रुपैयाँको सुन्तला बिक्री गरिदैं

199
views

म्याग्दी, २५, पुस । म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँको सुन्तला बिक्रीबाट कारोवार हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । बेनी नगरपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिकाको मरेक, बालम, बास्कुना, थामडाँडा तथा सुर्केमेला क्षेत्रमा यस वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको छ ।

मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले बेनपा–३, मरेक तथा बालम क्षेत्रका २१ परिवार कृषकले ७० हजारदेखि १२ लाख रुपियाँसम्मको सुन्तला बेच्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले गत वर्ष जस्तो राम्रो सुन्तला नफले पनि गुणस्तर र स्वाद तथा रङको चमक आइसकेकाले सुन्तला बिक्री गर्न थालिएको बताए । “गत वर्ष मैले मात्रै १३ लाख ५० हजारको सुन्तला बेचेको थिएँ । गत वर्ष जस्तै राम्रो सुन्तला नफले पनि १० लाखभन्दा बढीकै बिक्री गर्ने आशा छ ।”

मरेक तथा बालम क्षेत्रमा झन्डै दुई हजार हाराहारीमा सुन्तलाको बोट लगाइए पनि अहिले आधा जतिले मात्रै उत्पादन दिने कृषकको भनाइ छ । सबै कृषकका गरी गत साल ७५ लाख रुपियाँको सुन्तला बिकेको थियो । यस वर्ष पनि त्यही हाराहारीमा बिक्री हुने अनुमान गरिएको खत्रीको भनाइ छ ।

विसं २०६० देखि व्यावसायिक रूपमा सुरु गरिएको सुन्तला खेती गाउँको मुख्य आम्दानी स्रोत भएको छ । पछिल्ला वर्षमा हरेक वर्ष ५० लाखभन्दा बढी रकम सुन्तला बिक्रीबाट गाउँमा भित्र्याउने गरेका कृषकले यस वर्ष नयाँ बोटले समेत फल दिएपछि आम्दानी बढ्ने स्थानीय वीरबहादुर थापाले बताए । “मरेक तथा बालमका गरी सबै २१ घरधुरीले सुन्तला लगाएका छन् ।
मरेककी कर्णकुमारी पुर्जा पुनले ११ लाख रुपियाँको सुन्तला बिक्री गर्ने अपेक्षा गरेकी छिन् । गत वर्ष १३ लाख ५० हजार रुपियाँको सुन्तला बिक्री गरेका पदमबहादुर खत्री यस वर्ष ११ लाख रुपियाँ बराबरको सुन्तला बेच्ने बताउँछन् ।
जमुना थापा सात लाख, दिलबहादुर थापा छ लाख, वीरबहादुर थापा चार लाख, कर्णबहादुर सुवेदी चार लाख, इन्द्रबहादुर क्षेत्री तीन लाख र पदमबहादुर थापाले तीन लाख रुपियाँसम्मको सुन्तला बेच्ने बताए । पदमबहादुर खत्रीले यो वर्ष ५० देखि ८० लाख रुपियाँसम्मको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउए ।