प्रधानमन्त्रीले सोधे–माओवादीले समर्थन फिर्ता लिए के हुन्छ ?

1238
views

काठमाण्डौ, १९ असोज । पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ता लगायतका कानुनविद्सँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एकदर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि संविधान नै बोकेर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
छलफलमा उपस्थित कांग्रेस नेताहरूले निर्वाचन बिथोल्ने रणनीतिअनुरुप वामगठबन्धन भएको हुनसक्ने आशंकासमेत उब्जाएका थिए । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नयाँ राजनीतिक घटनाक्रमलाई लिएर छलफल भएको बताए ।
बरिष्ठ अधिबक्ता यदुनाथ खनालले भने ‘हामीले विघटनको कल्पना नगरौं । चुनाव हुन नदिने र बिथोल्ने अवस्था आइपरेमा राजनीतिक र कानुनी रूपले उपाय खोज्नुपर्छ भन्यौं,’ खनालले भने, ‘नेताहरूबाट अहिलेको गठबन्धन चुनाव बिथोल्ने योजना हो कि भनेर समेत आशंका आएको छ । चुनाव नै रोक्ने खेल कतैबाट भएमा सर्वोच्च अदालतमा पनि जानुपर्नेसम्मको अवस्था आउन सक्छ भनेर जानकारी गराएका छौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।