रिना खनाल । नेपालको ऐतिहासिक तथा धार्मिक रूपले सुपरिचित स्थलहरूमध्ये एक हो नुवाकोट । नेपालको इतिहासका पानाहरू पल्टाउँदा एकपटक पुग्नैपर्ने स्थल हो नुवाकोट ।
नुवाकोट डाँडा प्राचीनकालीन ऋषिमुनिको बसोबासस्थल थियो । त्यसैले यो ठाउँलाई ‘ऋषिपतन’ पनि भनिन्थ्यो । नुवाकोट पौराणिक हुनुका साथै ऐतिहासिकस्थल रहँदै आयो । मध्यकालको पूर्वाद्धमा सामरिक दृष्टिले सुरक्षित प्रदेश बस्ती बसाउने लहर चलेका बेला नुवाकोटलाई मूलकोटको रूपमा लिएर वरपरका कोटहरूलाई सम्मिलित गरी सञ्चालन गरियो । मूलकोट भएको हुँदा यो ठाउँले नवकोट, नुहाकोट, नवक्वाठ, नौकोट हुँदै नुवाकोट नामले प्रसिद्धि कमायो । वरिपरिका कोटहरूमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङकोट, सल्यानकोट र प्यासकोट हुन् ।
यहाँका अनेकौं देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तुहरू भूकम्पले ध्वस्त बनायो । तर, पनि यी स्थल स्वदेशी तथा विदेशी पर्यटकहरूको ध्यान तान्न अझै सक्षम छन् । यस्ता सामरिक महत्वका क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना र आधारहरू जीवितै छन् । नुवाकोटलाई धार्मिक एवं सांस्कृतिक निधिको रूपमा पनि हेर्न सकिन्छ । यहाँ अनेकौं देवीदेवताका स्थलहरू छन् ।
काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनेजस्तै नुवाकोटलाई पनि मन्दिरै मन्दिरको गाउँ भन्न सकिन्छ । यहाँ देवी भैरवी, तुलजा भवानी, नारायण, विष्णु, खाल्टादेवी, भगवती, सरस्वती, नाट्यश्वरी, बूढीभैरवी, भीमसेन, गणेश, महादेव, भैरव, गोरखनाथ, कालिका, मालिकालगायत थुप्रै देवताहरू छन् । त्यस्तै बौद्ध बिहार पनि छन् । यी देवतामध्ये देवी भैरवी सबैभन्दा ठूलो छ । साथै, यो कलात्मक पनि छ ।
नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवीशक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताहरूले गर्दै आएका छन् । यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ । बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ ।
भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रूपले अपरम्पार छ । देवी जात्रा अर्थात् सिन्दुरे जात्रालाई यो क्षेत्रमा विशेष महत्वसाथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दुरे जात्रा धुमधाम साथ मनाइन्छ । यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिनासम्म चलिरहन्छ । फागु पूर्णिमाको दिनदेखि जात्राको तयारी गरिन्छ । र, यो दिनदेखि पुजारीहरूले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भालिपल्ट गरेर दुई दिन चल्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन् ।
सिन्दुरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारहरूको व्यवस्था हँुदै आएको छ । विसं. १८०१ मा नुवाकोट विजय गर्नुअघि यहाँ ‘हाकुद्यो’ नाम गरेका धामी थिए । हालका धामी हरिमानसिं डंगोल उनका बाह्रौं पुस्ताका हुन् । परम्परागत धार्मिक कार्यहरूमा पहिरिने विशेष खालको पोशाक हरेक १२ वर्षमा परिवर्तन गरिने प्रचलन रहेअनुसार पोशाक परिवर्तन गरिएको हो । ७८ वर्षीय धामीको यो पटकसँगै १२ वर्षे पोशाक छैटौं पटक परिवर्तन गरिएको हो । धामीले लगाउँदै आएको उक्त पोशाक राष्ट्र प्रमुखको हातबाट नयाँ परिवर्तन गर्ने परम्पराअनुसार गत माघ १३ गते राष्ट्रपतिको अनुमतिमा निवृत्तिभरण व्यवस्था कार्यालयमार्फत नयाँ पोशाकका साथै गहनालगायत पहिरन परिवर्तन गरिएको हो । राष्ट्रप्रमुखको अनुमतिबिना नुवाकोटको त्रिशूली, सामरी, तादी, लिखु नदी पार गर्न नहुने प्रचलन छ । यो प्रचलन मल्लकालीन समयभन्दा अघिदेखि रहेको स्थानीयहरू बताउँछन् ।
चैत्र शुक्ल पूर्णिमाका दिन बेलुका धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधिबाट शुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्घारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ । र, बज्राचार्यद्वारा धामीधमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ ।
यसप्रकार धामीधमिनी देवीको रूप धारण भइसकेपछि काँप्न थाल्छन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टिन्छन् । यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बूढी भैरवी (देवी भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिंगो गाड्ने गरिन्छ । लिंगो गाड्ने ठाउँ स्थायी छ, जुन लिंगोको लम्बाइअनुसार त्यति गहिरो छैन ।
पहिले लिंगो गाड्ने काम स्थानीय व्यक्तिहरूबाट हुन्थ्यो । केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिंगो गाड्न सकिँदैन । लिंगो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रूप धारण गरी आसन जमाएर बसिरहनु पर्छ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिंगोहरू वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।
प्रतिपदाको दिन धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरबार बाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीहरूलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि र बर्खाको पानीले ढलेको छ । यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्छन् । खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू राखिएका हुन्छन् । त्यो खटलाई लच्याङका तामाङहरूले बोक्छन् । गत वर्ष भैरवी गुठीका गुठियार रहेका लत्याङबासीले रथ बोक्न अस्वीकार गरेपछि नेपाली सेनाले रथ बोकेका थिए । लच्याङबासीले आफूहरूले भोकचलन गर्दै आएको गुठी जग्गा रैकर गरिनु पर्ने तथा आफ्नो नाममा जग्गाधनी पुर्जा बनाइनुपर्ने माग गर्दै रथ बोक्न अस्वीकार गरेपछि सदियौंदेखिको प्रचलन तोडिएको हो । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैंचा हुँदै देवीघाटमा पु¥याइन्छ । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।
देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ ।
देवीघाटको मेला सकिएपछि धामीधमिनीलगायत अन्य गणहरू बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । माझीटार, बट्टार हुँदै नुवाकोटको धरमपानीमा पुगेपछि धामीधमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्वितीयाको दिन दिउँसो २ बजेतिर जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा दुई सलामी ( निशान झन्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । त्यस्तै, साततले दरबार अगाडि र तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ । बढाइँ सकिएपछि रथ उठाएर धामीधमिनीको यात्राका साथ सैनिकहरूको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ ।
यो यात्रा देवी भैरवी मन्दिरेनर महेश मर्दिनी मन्दिर पुगेपछि धमिनीलाई सिन्दुर हालिन्छ र यसले सिन्दुरे जात्राको रूप लिन्छ । तलेजुको कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामीधमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट अर्थात् बिहान झिसमिसे हुँदा डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट विशेष भोग ख्वाउने गरिन्छ । यो अवसरमा बढाइँ गरिन्छ । देवताको रूप धारण गरेका धामीले राँगा, बोकाका रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टिन्छन् ।
वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा पुनस्र्थापन गरिन्छ । बाह्रभाइ खलकीद्वारा मन्दिरमा क्षमा पूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । यसपछि पनि स–साना जात्रा भइरहन्छन् । देवी जात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुशियालीमा उत्सवको रूपमा मनाइने परम्परा छ । सिन्दुरे जात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिन प्रमाण भने भेटिएको छैन ।
यो जात्रा हेर्न स्थानीय समुदाय तथा विदेशीको ठूलै भीड लाग्छ । जात्राले मनोरञ्जन दिनुका साथै केही डरसमेत सिर्जना गर्छ । अहिलेको परिप्रेक्ष्यमा सिन्दुरे जात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिनुपर्नेमा स्थानीयको जोड छ ।