पर्वतका कोरोना संक्रमित युवाको कन्ट्रयाक ट्रेसिङका सवैको रिर्पोट नेगेटिभ

791
views

पर्वत, १८, भदौ । पर्वतको कुश्मा नगरपालिका वडा न ६ धनेश्वर चोकबाट पोखरा गएका एक युवामा संक्रमण पुष्टि भएपछि संक्रमित युवाको सम्पर्कमा आएका परिवार, टोल छिमेक र अन्य ब्यक्तिको कोरोना परिक्षणको नतिजा आएको छ ।

संक्रमित युवाकोे घरमा ट्यु्सन पढन आउने देखि उनको नजिक सम्पर्कमा रहेका ९ जना र कुस्मा देखि एउटै सवारी साधनमा गएका ४ जना सहित १३ जनाको स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो । ‘कन्ट्रयाक्ट ट्रेसिङ्गका क्रममा श्वाब संकलन गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ ।’

जिल्ला संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी) का प्रबक्ता प्रविण भण्डारीका अनुसार ‘रिर्पोट नआउँदा सम्म कुस्मामा संक्रमण फैलिएको छ की भन्ने त्रास थियो, अहिले सम्म सुरक्षित छौ भन्ने देखियो ।’

युवाको सम्पर्कमा रहेकाहरुको रिर्पोट नेगेटिभ आएसंगै उनमा संक्रमण पोखरा गएपछि सरेको हुनसक्ने आशंका गरिएको छ । वैंकमा कार्यरत उनी भदौ १ गते कुश्मा आएका थिए । परिवारसंग बसेर उनी भदौ ९ गते पोखरा फर्किएका हुन् ।

अहिले कुस्मामा समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने र सिमा नाकाबाट लुकीचोरी प्रबेश गर्नेका कारण संक्रमणको उच्च जोखिम हुने आँकलन सहित जिल्लाभित्र भाडाका सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएकोमा भने अझै एक सातासम्म कायम नै रहने भएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङ्गको नतिजा नेगेटिभ आएपनि एक साता सम्म अहिलेकै अबस्था कायम रहने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

फलेवास नगरपालिकाबाट १ सय १५ जनाको संख्यामा समुदाय स्तरका मानिसहरुको स्वाब संकलन गरी परिक्षणको लागि पोखरा पठाइएको छ । यसको नतिजा आएपछि कुस्मा, जलजला, मोदी सहित सबै पालिकामा फेरी एकपटक नमुना संकलन गरि समुदायमा संक्रमणको पछिल्लो अबस्था बुझ्ने तयारी गरिएको छ । ‘एक हप्ता सम्म अहिलेकै अबस्था कायम रहन्छ’ उनले भने ।