निर्वाचन आयोगबाट चुनाव सार्ने सूचना पाएपछि माओवादीले गर्यो सरकार नछोड्ने निर्णय

720
views

काठमाडौं, ३१ असोज । माओवादी नेता एवं एवम् गृहमन्त्री जनार्दन शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताएका छन् । मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले यस्तो बताएका हुन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवाले प्रचण्ड भयो अब तपाईहरुको सहयोग चाहिदैन भनेपछि प्रचण्डले चुनाव गराउनुहुन्छ कि के गनुृहुन्छ भने प्रतिप्रश्न गरेका थिए । अध्यक्ष प्रचण्डले निर्वाचनको वातावरण बन्ने भए सरकार छोड्न तयार भएको आश्वासन प्रधानमन्त्री देउवालाई दिएका थिए ।
यद्यपी देउवा र प्रचण्डबीच भेटवार्ता भएको केही बेरमा निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि तत्काल माओवादीले सरकार नछोड्ने निर्णय गरेको गृहमन्त्री शर्माको भनाइ छ ।
गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताएका हुन् ।