बेनी बजारमा एकहजारको नक्कली नोट भेटियो

988
views

म्याग्दी, १ मंसिर । बेनी बजारमा एक हजारको नक्कली नेपाली नोट प्रचलनमा ल्याइएको भेटिएको छ । म्याग्दीको सदरमुकामस्थित लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको हो ।

सहकारीका सञ्चालकले नोटमाथि शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको थियो । उक्त नक्कली नोटको संकेत नम्बर (च२५) ४३६१३३ रहेको बताइएको छ ।

केही महिना अगाडि रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ । विगतमा बेनी अस्पतालमा समेत रु ५०० को नक्कली नोट भेटिएपछि अनुसन्धान गरिएको थियो ।

भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ । बेनीबजारसँगै ग्रामीण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद–बिक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।