भाइबरको चिठ्ठाले फसाउने त्रास

749
views

काठमाण्डौ, ४ मंसिर । विगत केही हप्ता यता ओभर दी टप (ओटीटी) सेवामार्फत कल तथा म्यासेज गरेर लाखौंको चिठ्ठा परेको भन्दै बैंक तथा वित्तीय संस्थाको खाता नम्बर माग हुन थालेपछि प्रयोगकर्ता अलमलमा छन । खासगरी भाइबर, ह्वाट्सएपजस्ता म्यासेजिङ तथा भ्वाइस इप्समार्फत विदेशका नम्बर प्रयोग गरी चिठ्ठा परेकाले त्यसलाई प्राप्त गर्न बैंक खातमा रकम जम्मा गरिदिन अपरिचित नम्बर बाट प्रयोगकर्तालाई आग्रह गर्ने प्रयोगकर्ताको भनाइ छ । कतिपय अवस्थामा उपहार पठाएको भन्दै खाता नम्बर उपलब्ध गराउन समेत दवाव दिने उनीहरुको गुनासो छ ।


बैंक खाताबाट पैसा प्राप्त गर्न नियतसहित चिठ्ठाको प्रलोभन देखायने प्रवृति पछिल्लो समय बढेको छ । भाइबर तथा ह्वाट्सएपबाट प्राप्त हुने त्यस्ता कलमा हिन्दी उर्दु लगायतका भाषा प्रयोग गरी चिठ्ठाको प्रलोभनमा पार्ने पाइएको छ । ००९२ तथा ००९३ जस्ता कोडको प्रयोग गरी विदेशबाट बैंक खाता नम्बर माग हुने गरेको छ । यसबाहेक ८८८८८८८८८, १२३४५६ जस्ता अपरिचित नम्बरबाट कल गरेर धम्की दिने तथा फिरौति माग गरेको जस्ता गुनासो पनि प्रयोगकर्ताको रहेको छ । चिठ्ठाको प्रलोभनबाट प्रयोगकर्तालाई सचेत गराउन नेपाल दुरसञ्चार प्राधिकराण केन्द्रिय अनुसन्धान ब्युरो र सेवा प्रदायकले प्रयास अघि बढाइरेहेको जनाएका छन । आजको गोरखापत्र दैनिकबाट