पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीलाई क्षमादान दिने निर्णयविरुद्ध पेरुमा प्रदर्शन

813
views

एजेन्सी लिमा, १६ पुस । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीलाई क्षमा दिने सरकारी निर्णयको विरोधमा दशौँ हजार पेरुका नागरिकले राजधानी लिमामा बृहत् प्रदर्शन गरेका छन् । राष्ट्रपति पेड्रो पाब्लो कुचिन्स्कीले स्वास्थ्यको कारण देखाउँदै गत शनिबार गरेको फुजिमोरीलाई क्षमादान दिने निर्णयको विरोधमा विपक्षी र विभिन्न अधिकारवादी समूहले प्रदर्शन गरेका हुन् ।
राजनीतिक संकट
सन् १९९० को दशकमा सत्तामा रहेका वेला मानवअधिकार उल्लंघन र भ्रष्टाचार गरेको अभियोगमा ७९ वर्षीय फुजिमोरीले लामो समयदेखि जेलजीवन बिताइरहेका छन् । अनियमितताको आरोपमा फुजिमोरीलाई २५ वर्ष कैद सुनाइएको थियो । राष्ट्रपतिको निर्णयले राजनीतिक संकट निम्तिएको छ । केही दिनअघि मात्र मन्त्रिपरिषद् पुनर्गठन गरेका राष्ट्रपति पेड्रो पाब्ला कुचिन्स्कीले फुजिमोरीकी छोरी केइको फुजिमोरीले नेतृत्व गरेको प्रमुख विपक्षीसँग गठबन्धन गर्ने संकेतसमेत गरेका छन् ।
‘राष्ट्रपतिले वैधानिकता गुमाए’
राष्ट्रपतिले आफ्नो वैधता गुमाएको महिला अभियानकर्ताहरूले आरोप लगाएका छन् । ‘राष्ट्रपतिले वैधानिकता गुमाएका छन्, उनले तत्काल राजीनामा दिनुपर्छ,’ महिला अभियानकर्ता मारिया इजाबेल सिडानोले भनिन् । सन् २०१६ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा पेड्रो पाब्ला कुचिन्स्कीलाई समर्थन गरेकी महिला नेतृ सिडानोले राष्ट्रपतिले धोका दिएको आरोप लगाइन् । ‘राष्ट्रपतिले हामीलाई धोका दिए । तत्काल राजीनामा दिएर नयाँ निर्वाचन गर्नुपर्छ,’ उनले भनिन् । राष्ट्रपतिविरुद्धको प्रदर्शनमा विभिन्न राजनीतिक दलका भातृ संगठन, महिला अधिकारवादी, विद्यार्थी कलाकारलगायतको उपस्थिति थियो ।

सांकेतिक विरोध
प्रदर्शनकारीले पूर्वराष्ट्रपति फुजिमोरीको तस्बिर अंकित बैंकका नोटहरूको एउटा बिटो बोकेर सडकमा मार्च गरेका थिए । प्रदर्शनकारीले ‘फुजिमोरीलाई क्षमा दिनु लज्जास्पद विषय हो’, ‘न्यायको अवमूल्यन नहोस्’, ‘राष्ट्रपति तत्काल राजीनामा देउ,’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।

फुजिमोरीका समर्थक र विरोधी
सन् १९९० को दशकमा शासन गरेका तानाशाह अल्बर्टो फुजिमोरीको छायाँ अझै पनि आधुनिक पेरुमा देख्न सकिन्छ । उनको शासनलाई लिएर अझै पनि पेरुको समाज दुई धारमा विभाजित छ । माओवादीको साइनिङ पाथ आन्दोलन दबाउन उल्लेख्य भूमिका खेलेकोमा फुजिमोरीका समर्थक उनको प्रशंसा गर्छन् । तर, उनका आलोचकहरू फुजिमोरीलाई एकजना भ्रष्ट तानाशाहको रूपमा चित्रित गर्छन् । फुजिमोरीको शासनकालमा पेरुको आर्थिक विकासमा उल्लेख्य सुधार भएको थियो।

लेखकहरूको विरोध
फुजिमोरीलाई क्षमादान दिने सरकारी निर्णयको त्यहाँका लेखकहरूको एउटा समूहले निन्दा गर्दै राष्ट्रपति पेड्रो पाब्लो कुचिन्स्कीलाई हस्तान्तरण गरेको छ । निन्दा गरिएको पत्रमा हस्ताक्षर गर्ने लेखकहरूमा नोबेल पुरस्कार विजेता मारिओ भार्गास लियोसासमेत छन् । लेखकहरूले पत्रमा राष्ट्रपति कुचिन्स्कीको निर्णय ‘गैरकानुनी’ र ‘गैरजिम्मेवार’ भएको बताएका छन् । उनीहरूले राष्ट्रपतिको निर्णय पेरुका लागि ‘लज्जाको विषय’ भएको टिप्पणीसमेत गरेका छन् ।