गौरव सिटौला अमेरिकामा जमे

756
views

काठमाडौँ, २० पुस । नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन् । उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन् । तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे ।

सानैमा नेपाली गीतसङ्गीतमा रुचि लिने सिटौलाले रक एण्ड रोलसँग आफ्नै दिदीहरु सञ्जिता र मञ्जिताबाट परिचित भए । ‘गन्स एण्ड रोजेज’को क्यासेट टेप सुनेर उनको जीवनले मोड लियो । एक पल्ट एउटा कन्सर्टमा ‘गन्स एण्ड रोजेज’का गीत सुनेका चौध वर्षीय सिटौला त्यसपछि गिटार लिएर हिँड्न थालिहाले नि ।

“म आफूले मन परेको गीत सुन्नेबित्तिकै गिटारका कर्डमा ट्युन दिन सक्छु”, हाल ‘रब’ सिटौला बनेका गौरव भन्छन् । गिटार बोक्न शुरु गरेकै बेला उनी गीत लेख्न सक्ने भइसकेका थिए । उनले शुरुमा गाएको पहिलो गीत ‘विश्वास’ शीर्षकको थियो । त्यही ‘विश्वास’ले उनी विद्यालय, छिमेकी, साथी र शिक्षकहरुबीच परिचित र प्रशंसित भए र विभिन्न ब्यान्डबाट निमन्त्रणा पाउन थाले ।

उनले ‘हेभी ड्युटी’ ब्यान्डमार्फत सन् २००६ को ‘काठमाडौँ उत्सव’ र एनटिभी मेट्रो २ मा आफ्नो प्रस्तुति दिन पाए । अहिले उनी एक्लै अमेरिकामा ‘स्किनी इज ग्रिन’ ब्यान्ड चलाउने भइसकेका छन् ।

नेपालको जेभियर एकेडेमीबाट दश जोड दुई सकेपछि उनले ‘द इलेभेन्थ आवर’ ब्याण्ड स्थापना गरे र साथीहरुसँग मिलेर एकैचौटि गीतलेखन, गायन र सङ्गीतमा संलग्न भए । सन् २००७ मा सो ब्यान्डले एउटा एलबम पनि निकाल्यो । त्यस्तै दुई म्युजिक भिडिओ ‘उज्यालो हेर्ने सपना’ र ‘ऐनाको प्रश्न’ पनि उनले बनाए जुन थुप्रै टिभी च्यानलमा प्रसारण भयो ।

साथीहरु धेरैजसो पढ्नका लागि विदेश लागेपछि त्यो ब्यान्ड विघटन भयो । रबले भने सन् २००७ डिसेम्बरमा अमेरिका लागे पनि आफ्नो सपना र विश्वासलाई मर्न दिएनन् । रब विस्तारै युट्युबमार्फत अमेरिकामा फिँजिन लागे । उनले सन् २०१२ तिर गीत लेखन कक्षा पनि लिए र अघि बढ्दै गए ।
‘स्किनी इज ग्रिन’ (२०१३) मार्फत नै अहिले उनी संगीत क्षेत्रमा लागिरहेका छन् । यसमार्फत उनले दुई एल्बम ‘ड्रिमर्स’(२०१५) र ‘हु इज वाचिङ’(२०१६) निकालेका छन् । हाल मेरिल्याण्ड निवासी रब टेक्सास युनिभर्सिटीमा चलचित्रबारे पढ्दैछन् । “मैले मेरा गीत राखेर चलचित्र बनाउने योजना बनाएको छु”, सच्चिनानन्द सिटौला र मीनु सिटौलाका एक मात्र सुुपुत्रले भने ।