रुसका ६० कूटनीतिज्ञलाई एकसाताभित्र देश छाड्न अमेरिकी निर्देशन

729
views

एजेन्सी वासिङ्गटन, १३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसका ६० कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएका छन् । अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार निकालिएका कूटनीतिज्ञहरूले अबको एक साताभित्र देश छाड्नुपर्नेछ ।

त्यस्तै, सिएटलस्थित रुसी महावाणिज्य दूतावास पनि बन्द गरिदिएको छ । यसअघि नै बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो । जर्मनी, फ्रान्स, युक्रेन, क्यानडा र अन्य थुप्रै युरोपेली देशले पनि रुसी कूटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिइसकेका छन् ।

४ मार्चमा बेहोस अवस्थामा भेटिएका पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि रुसको संलग्नतत रहेको युरोपेली युनियन तथा अमेरिकाको आरोप छ । बेलायतको साल्सीवरी जिल्ला अस्पतालमा उपचार गराइरहेका सर्गेइ र उनकी छोरीको अवस्था अहिले पनि गम्भीर छ ।

युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कका अनुसार अहिलेसम्म इयूअन्तर्गतका १४ वटा देशले रुसी कूटनीतिज्ञलाई निकाल्ने निर्णय लिइसकेका छन् । गत साता सर्गेइ स्क्रिपालमाथिको घटनाका विषयमा समीक्षा गर्न बसेको बैठकपछि यस्तो निर्णय भएको उनले बताए ।

अमेरिकाले के भन्यो ?
केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौथोपटक रुसको राष्ट्रपतिमा विजयी भएकोमा भ्लादिमिर पुटिनलाई बधाई दिएका थिए । त्यतिवेला उनले यस विषयमा कुनै कुराकानी गरेका थिएनन् । पुटिनलाई चेतावनी दिनुको सट्टा उल्टै बधाई दिएको भन्दै ट्रम्पको आलोचना भएको थियो ।

तर, एक्कासि ट्रम्प किन फेरिए ? ‘यो कदम रुसलाई सन्देश पठाउनका लागि उठाइएको हो । रुसका जासुसहरू कूटनीतिज्ञको भेषमा अमेरिकामा काम गरिरहेका थिए । अमेरिकासँग सम्बन्ध सुधार्ने हो भने उनीहरूको जासुसी बन्द गर्नुपर्छ,’ एक अमेरिकी अधिकारीले भने ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमाथिको आक्रमण सह्य नहुने बताएको छ । ‘४ मार्चमा रुसले सैन्य तालिमप्राप्त जासुस खटाएर बेलायती नागरिक सर्गेइ र उनकी छोरीको हत्या गर्ने प्रयास ग¥यो । हाम्रो गठबन्धनमा रहेको बेलायतमाथि यस घटनाले अनगिन्ती खतरा बढाएको छ, जुन हामीलाई सह्य छैन । घटनापछि प्रहरी अधिकारीसहित तीनजना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले यस आक्रमणलाई ‘केमिकल हतियार सन्धि र अन्तर्रा्ष्ट्रिय कानुनको लज्जास्पद उल्लंघन’ भनेको छ । अमेरिकाले वासिङ्टन डिसीमा रहेको रुसी दूतावासमा कार्यरत ४८ कूटनीतिज्ञ र न्युयोर्क्स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरत १२ जनालाई निलम्बन गरेको हो ।

को हुन् सर्गेइ स्क्रिपाल ?
सन् १९५१ मा जन्मिएका सर्गेइ भिक्टोरोभिच स्क्रिपाल पूर्व रुसी सैन्य जासुस हुन् । उनले सन् १९९० देखि २००० सम्म बेलायतका लागि समेत काम गरेका थिए । दोहोरो भूमिका निभाएको पत्तो पाएपछि रुसले उनलाई सन् २००४ मा पक्राउ गरेको थियो । पक्राउपछि उनलाई रुसी संघीय सुरक्षा सेवाले १३ वर्षको जेलसजाय सुनाएको थियो । सन् २०१० को जुलाई ९ मा सर्गेइसहित तीनजना रुसी नागरिकलाई सरकारले रिहा गरेको थियो ।

अमेरिकामा पक्राउ परेका १० रुसी एजेन्टलाई रिहा गर्न अमेरिकी सरकार तयार भएपछि त्यसको बदलामा रुसी राष्ट्रपति डिमिट्री मेडभेदेवले पनि उनीहरूलाई माफी दिएका थिए । त्यसयता उनी बेलायतमा बस्दै आएका छन् । गत ४ मार्चमा मस्कोबाट आएकी छोरी युलियासँगै सर्गेइ बेहोस अवस्थामा बेलायतको साल्सीवरीमा भेटिएका थिए । उपचारका क्रममा उनीहरूमाथि रुसी विषालु केमिकल ‘नोभिचोक नर्भ एजेन्ट’ प्रयोग गरिएको फेला परेको थियो ।

यस घटनापछि सुरुमा रुसी अधिकारीहरूले सर्गेइको राष्ट्रियताका विषयमा जानकारी नभएको बताएका थिए । यद्यपि, २१ मार्चमा बेलायतका लागि रुसी राजदूत अलेक्यान्द्रर याकोभेन्कोले सर्जी पनि रुसी नागरिक रहेको दाबी गरेका थिए । रुसले यस घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

कुन देशबाट कति निकालिए ?
अमेरिकाले ६० रुसी कूटनीतिज्ञलाई निकाल्ने घोषणा गरेको छ । त्यस्तै, बेलायतले २३ जनालाई देशनिकाला गरिसकेको छ । युक्रेनले १३ जनालाई निकालेको छ । पोल्यान्डले चार, फ्रान्सले चार, जर्मनीले चार र क्यानडाले पनि चार कूटनीतिज्ञलाई निकालेका छन् ।

त्यस्तै, चेक गणतन्त्र तथा लिथुआनियाले तीन–तीन कूटनीतिज्ञलाई देशनिकाला गरेका छन् । नेदरल्यान्डस्, इटाली र डेनमार्कले समान दुई–दुई कूटनीतिज्ञलाई निकालेका छन् । इस्टोनियाबाट एक, लात्भियाबाट एक, क्रोएसियाबाट एक, फिनल्यान्डबाट एक र रोमानियाबाट पनि एक कूटनीतिज्ञ निकालिएका छन् ।