दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई २४ वर्ष जेल सजाय

690
views

एजेन्सी सिउल, २४ चैत । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हायलाई एक अदालतले २४ वर्ष जेल सजाय सुनाएको छ । पदीय दुरुपयोग, आर्थिक अनियमितता र घुस लिएको अभियोगमा अदालतले शुक्रबार उनलाई सो सजाय सुनाएको हो । अदालतले पार्कमाथि १ करोड ७० लाख डलर जरिवानासमेत सुनाएको छ । उनीमाथिको भ्रष्टाचारको आरोपले सम्पूर्ण दक्षिण कोरियालाई हलचल बनाएको थियो । शुक्रबार फैसला हुँदा पूर्वनेत्री पार्क र उनका वकिल अदालतमा उपस्थित भएनन् । आफूलाई अदालतले सुनियोजित रूपमा फसाएको आरोप लगाउँदै ६६ वर्षीय पार्कले यसअघिका सुनुवाइ बहिष्कार गरेकी थिइन् ।

पार्कले शक्तिको दुरुपयोग गरिन्
नागरिकहरूले प्रदान गरेको शक्ति राष्ट्रपतिले दुरुपयोग गरेको अदालतले फैसलामा उल्लेख गरेको छ । ‘आफ्ना नागरिकहरूले प्रदान गरेको शक्ति राष्ट्रपतिले दुरुपयोग गरेको अदालतलको ठहर छ,’ फैसलामा भनिएको छ । दक्षिण कोरियाका भविष्यका नेतालाई भ्रष्टाचारविरुद्ध कडा सन्देश दिन उनीमाथि कठोर सजाय आवश्यक रहेको फैसलामा उल्लेख छ । अभियोजनकर्ताले उनलाई ३० वर्ष जेल सजाय माग गरेका थिए । पार्क दोषी ठहर भएसँगै  देशका वरिष्ठ राजनीतिज्ञलाई आफ्नो पकडमा राखेको भ्रष्टाचार सञ्जाल छताछुल्ल भएको छ ।

अदालतबाटै प्रत्यक्ष प्रसारण
उनीमाथिको अन्तिम फैसला दक्षिण कोरियाको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । अदालतले आफूमाथिको सजाय प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएपछि पार्क र उनका वकिल सिउलस्थित अदालतमा उपस्थित भएनन् । अदालतको फैसलालाई कोरियाली इतिहासमै पहिलोपटक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको थियो । भित्र फैसला भइरहँदा अदालत परिसरबाहिर भेला भएका पार्कका सयौँ समर्थकहरूले पार्ककलाई तत्काल रिहा गर्न माग गरेका थिए । पार्कमाथि लगाएका १८ आरोपमध्ये १६ वटामा दोषी पाइएकी छिन् । उनीमाथि लगाइएका आरोपहरूमध्ये अधिकांश आरोप गत वर्ष संसद्ले महाअभियोग लगाउनुपूर्व लगाइएका अभियोगसँग सम्बन्धित थिए ।

पार्कको नाटकीय पतन
दक्षिण कोरियाका पूर्वतानाशाह पार्क चुङ हिकी पुत्री पार्कलाई देशको संवैधानिक अदालतले पदमा रहन अयोग्य ठहर गरेपछि गत वर्षको मार्चमा पक्राउ परेकी थिइन् । यसअघि उनीमाथि संसद्ले लगाएको महाअभियोगलाई सो अदालतले सदर गरेको थियो । पार्कलाई पदमुक्त गर्नुपर्ने माग गर्दै लाखौँ दक्षिण कोरियालीले दिनहुँ जसो प्रदर्शन गरेपछि उनीमाथि संसद्ले महाअभियोग लगाएको थियो । पार्कमाथि सामसुङलगायतका कम्पनीहरूलाई डर तथा धम्की दिएर आफ्नो निकट साथी चोई सुन सिलमार्फत गैरकानुनी तरिकाले रकम संग्रह गरेको आरोप लागेको थियो । पार्ककी निकट मित्र चोईले प्रत्यक्ष रूपमा कुनै पद नलिए पनि पार्कको आर्थिक अनियमिताका पछाडि उनको मुख्य हात रहेको आरोप लागेको थियो । पार्कलाई अनावश्यक प्रभाव पारेको, ठगी गरेकोलगायत १८ अभियोगमा गत जनवरीमा अदालतले चोईलाई २० वर्ष जेल सजाय सुनाएको थियो । अदालतले उनलाई १ करोड ६६ लाख जरिवानासमेत तोकेको थियो ।

भ्रष्टाचार काण्डमा एकपछि अर्को राष्ट्रपति

दक्षिण कोरियामा पार्क गियुन हायभन्दा अगाडिका राष्ट्रपति पनि एकपछि अर्को भ्रष्टाचार काण्डमा तानिएका थिए । राष्ट्रपति भवन ब्लु हाउसमाथि लामो समयदेखि भ्रष्टाचारको कालो बादल मडारिँदै आएको छ । दक्षिण कोरियाका पछिल्ला चार राष्ट्रपतिमाथि भ्रष्टाचार आरोप लागेको थियो । सन् १९९८ देखि २००३ सम्म शासन गरेका किम दायई जुङ आफैँ भ्रष्ट नेता थिएनन् । तर, उनका निकट सहयोगी र परिवारका सदस्य भ्रष्टाचारमा जोडिएका थिए । भ्रष्टाचार अभियोगमा किमका दुई छोरालाई कैद गरिएको थियो । सन् २००३ देखि २००८ सम्म राष्ट्रपति बनेका रोह मु हायुनले आफ्नो पदावधि सकिनेबित्तिकै आत्महत्या गरेका थिए ।

भ्रष्टाचारको आरोपपछि अन्ततः उनले मृत्यु रोजेका थिए । उनीमाथि ६० लाख डलर भ्रष्टाचार गरेको आरोप लागेको थियो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका ली माइयुङ बाक पनि आर्थिक अनियमिततामा तानिएका थिए । सरकारलाई प्रभाव पार्न आफ्नै दाजुले एक व्यापारीबाट पाँच लाख डलर घुस लिएको स्वीकार गरेपछि बाकले माफी मागेका थिए ।