प्रधानमन्त्री ओलीको भारत मिसन पुरा आज स्वदेश फर्कँदै

704
views

काठमाण्डौ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने भ्रमण सकेर आज(आइतबार) राति स्वदेश फर्कँदै छन् । गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओली पूर्व निर्धा्रित कार्यतालिका अनुसार आज राति स्वदेश फर्कन लागेका हुन् ।

राति ८ बजेतिर प्रधानमन्त्री ओली काठमाडौं आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली नेतृत्वको भ्रमण टोली नेपाल वायु सेवाको विमानबाट स्वदेश आइपुग्ने छ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ। त्यहाँ ओलीलाई मानार्थ विद्यावारिधी अर्थात् पीएचडीको उपाधिले सम्मान गर्ने बताइएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा गत शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका छन् ।