भूकम्पपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि एक खर्ब १५ अर्ब रुपैयाँ खर्च

823
views

काठमाडौँ, १२, वैशाख । भूकम्पपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि तीन वर्षमा एक खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क, चीन, युरोपियन युनियन, विश्व बैङ्क, भारत, अमेरिका लगायतका दातृ निकायको सहयोगमा पुनःस्थापना तथा पुनःनिर्माणका लागि सो रकम खर्च गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म एक लाख १९ हजार १८२ घरको निर्माण सम्पन्न हुनुका साथै भूकम्पले प्रभावित ३१ जिल्लाका सात लाख ६७ हजार ७०५ लाभग्राही घर निर्माणका लागि छनोट भएको उल्लेख गरेको छ । प्राधिकरणले करिब चार लाख ३० हजार ८९ लाभग्रहीले भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेको जानकारी दिएको छ ।

घर निर्माण गरिरहेका दुई लाख १८ हजार ४३४ लाभग्राहीले आगामी वर्षभित्र घर निर्माण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले बताए ।

५५३ विद्यालयमध्ये आधा विद्यालय पुनःनिर्माण
भूकम्पले क्षति पु¥याएका सात हजार ५५३ विद्यालयमध्ये करिब आधा विद्यालयको भवन तीन वर्षमा बनिसकेको प्राधिकरणले जनाएको छ । तीन हजार पाँच सय विद्यालय पुनःनिर्माण भइसकेका छन् भने एक हजार ६९२ निर्माणाधीन अवस्था छन् ।

बस्ती स्थानान्तरणमा समस्या
भूकम्पका कारण जोखिममा परेका २८० बस्तीको स्थानान्तरणमा भने प्रगति न्यून रहेको छ । बस्तीलाई कुन स्थानमा स्थानान्तरण गर्ने भन्ने यकिन गर्न नसक्दा त्यस्ता बस्तीका तीन हजार ७९४ लाभग्राहीले घर बनाउन सकेका छैनन् ।

प्राधिकरणले जोखिमयुक्त बस्तीका बासिन्दालाई नजिकैको गाउँ वा जिल्लामा भए पनि जग्गा खरिद गर्नका लागि दुई लाख रुपियाँ थप उपलब्ध गराउने प्रयास गर्दै आए पनि त्यस्तो सुविधा ३८८ जनाले मात्र लिएका छन् ।

सरकारी भवन निमार्ण प्रक्रिया कछुवा गतिमा
भूकम्पले भत्काएका ३७९ सरकारी भवनमध्ये हालसम्म छवटा मात्र निर्माण सम्पन्न भएका छन् । १२० वटा भवनको पुनःनिर्माण प्रक्रिया थालिएको प्राधिकरणले जानकारी दिएको छ । एक हजार १९७ स्वास्थ्य संस्था क्षति भएकामा हाल ९४ वटा संस्था पुनःनिर्माण भइरहेका छन् । ३३१ वटाको मर्मत तथा प्रबलीकरण गरिएको छ भने ५८६ वटाको पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्याङ्क छ ।

पूननिर्माणको काम दुईवर्षभित्रमा पुरा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले अबको दुई वर्ष्भित्र भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण पुनःनिर्माणको कार्य पूरा हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्राधिकरण स्थापना भएको पाँच वर्ष्भित्र पुनःनिर्माणको सम्पूर्ण कार्य सकिने बताउँदै प्राधिकरणले त्यस अनुसारको तयारी गरिरहेको जानकारी दिए । चालू आर्थिक वर्षमा पुनःनिर्माणले थप गति लिने बताउँदै उनले अहिलेसम्म पचास प्रतिशत पुनःनिर्माणको कार्य सम्पन्न भएको दाबी गरे ।

४५ हजार परकम्प
गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको तीन बर्षभित्रअहिलेसम्म सानाठूला गरी ४५ हजार परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार तीन वर्षअघि मुलुकमा भूकम्प गएदेखि अहिलेसम्म सानाठूला गरी भूकम्पका ४५ हजार परकम्प गएको जानकारी दिए ।