किन जान्छन् प्रचण्ड चितवनका फरक फरक ठाउँ ?

1284
views

चितवन, १२ बैशाख । ‘हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने म यहाँ रिल्याक्स गर्न आएको होइन, यहाँको विकासको सम्भावना हेर्न अफरक फरक ठाउँ जाने गर्दछु ।’ प्रेस सेन्टर नेपाल, चितवन शाखाले आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै भने यहाँको विकासको सम्भावना हेर्न र कसरी विकास गर्ने बारे चिन्तित छु ।’

अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको पनि जानकारी गराउँदै भने ‘नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्र समेतलाई समेटेर यहाँको विकास योजना बनाउनु पर्छ ।’ यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउँदै प्रचण्डले देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गर्नुपर्ने बताए ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका प्रचण्डले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताए । उनले नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु सबैले सहयोग गर्नुपर्ने बताए ।

जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै प्रचण्डले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली शुरु गरिने बताए । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उनले जानकारी दिए ।

चिनियाँ टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउँदै उनले जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताए । स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको र मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो प्रचण्डले भने ।

प्रचण्डले ३ नम्बर प्रदेशको प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको बताए । यसैगरी, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहने दाबी गरे ।

निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडीलाई मणी बनाउन आकाशे पुलको कामको प्रक्रिया शुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताए ।