कांग्रेस बैठकमा संस्थापन पक्ष पनि आक्रामक

712
views

काठमाडौं । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् । बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए ।

नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलले पेस गरेको प्रस्तावको भाषा उनको राजनीतिक उचाइसुहाउँदो नभएको टिप्पणी गरे । चारपन्ने आरोपमा पौडेलले गुटको भरणपोषण गरेको, पैसाको राजनीति गरेको, कार्यकर्तालाई कांग्रेस जिन्दावाद होइन, शेरबहादुर जिन्दावाद भन्न सिकाएको विषय समेटेका थिए ।

महेश आचार्यले चुनावमा देउवा एक्लैले टिकट नबाँढेको भन्दै परिणामको जस–अपजस सबैले लिनुपर्ने बताए । डा। प्रकाशशरण महतले मंगलबारको लिखित प्रस्ताव सभापतिलाई मात्र दोषी देखाउने गरी आएको भन्दै आपत्ति जनाए । पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतले दोष मात्रै थुपारेको, तर सही बाटो देखाउन नसकेको उनको टिप्पणी थियो । शंकर भण्डारीले पार्टीका संरचना र निकायलाई अब विधानतः सभापतिले चाँडै पूर्णता दिनुपर्ने बताए । उनले सभापतिलाई मात्रै लखेटेर पार्टी राम्रो नबन्ने धारणा राखे ।

१० दिन बसिसकेको बैठक अझै केही दिन लम्बिने भएको छ । ६६ केन्द्रीय सदस्यले बोलिसकेका छन् भने अब बाँकी केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वपदाधिकारी बोल्न बाँकी छ ।

बैठकको निर्णय लेख्न प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल पक्षबाट नवीन्द्रराज जोशीसहितका नेतालाई जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्णय लेख्नुअघि आफूहरूको भावना, आवाज र कार्यक्रम समेट्न पौडेल र सिटौला पक्षले देउवालाई दबाब दिइरहेका छन् । नयाँपत्रिकाबाट