नेपाल भ्रमण आउनुअघि भारतीय प्रधानमन्त्री चिन भ्रमणमा, नेपाल चनाखो

1155
views

काठमाडौं, १४, बैशाख । नेपालको राजकीय भ्रमणमा आउने दिन नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को छिमेकी राष्ट्र चीन भ्रमणमा निस्किएका छन् । चीनको हुपै प्रान्तको उ हान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शुक्रबार उनको औपचारिक भेटवार्ता हुँदै छ । मोदी र सीबीच नवौंपटक भेटवार्ता हुन लागेको हो ।

मोदीको चिन भ्रमणमा झस्कियो नेपाल
सन् २०१५ मे १५ मा चीन र भारतले सहमतिबिना लिपु भञ्ज्याङ भएर नाका खोल्ने सम्झौता गरेपछि झस्किएको नेपालले मोदी–सी भेटलाई चासोका साथ हेरिरहेको छ । तिब्बती शरणार्थीका विषयमा भारत चीनका पक्षमा देखिँदै गर्दा मोदीको भ्रमण भएको हो । नेपालमा रहने र हुने गरेको तिब्बती गतिविधिको विषय त्यहाँ उठ्न सक्ने नेपाली कुटनीतिज्ञहरुले आँकलन गरेका छन् ।

मोदीको चिन भ्रमणमा चीन हेर्ने उत्तरपूर्वी महाशाखा र भारत हेर्ने दक्षिण एसिया महाशाखा दुवैले चासोका साथ हेरिरहेका छन् । परराष्ट्रले दिल्ली र बेइजिङमा रहेको दूतावासलाई पनि यसमा चनाखो हुन आग्रह गरेको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले चीन र भारतलाई लिपलेक सम्झौताबारेमा ‘कूटनीतिक नोट’ नै लेखेको थियो । चीनका लागि तत्कालीन राजदूत डा. महेशकुमार मास्केले चिनियाँ पक्षलाई औपचारिक र अनौपचारिक दुवै तवरबाट नेपालको पुरानो नक्साको कपीसमेत बुझाएर त्यसबारे स्पष्ट हुन आग्रह गरेका थिए । त्यसयताका भ्रमणमा नेपाल चनाखो हुने गरेको परराष्ट्रका अधिकारी बताउँछन् ।

त्यसपछि चीनले नेपाली भूमिलाई भारतसँगको ‘बक्सिङ रिङ’ बनाउन नचाहेको स्पष्ट पारेको थियो । यसबीच चिनियाँ विदेशमन्त्री वाङ यीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । चीन सधैं भारतसँग व्यापारमा रम्न खोजेको देखिए पनि भारतले त्यसलाई औपचारिक रूपमा ग्रहण गर्न सकेको छैन ।

चीनले विहार र उत्तर प्रदेशका जनतालाई हेरेर व्यापारको हात अघि बढाएको बुझेको भारतले नेपाल भएर हुने त्यो व्यापारलाई स्वीकार गरिसकेको छैन । त्यही कारण उसले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागिता जनाएको छैन । नेपालले बीआरआईमा सहमति जनाए पनि भारतसँग सहमति हुन नसक्दा त्यसमार्फत आउने सहयोग कार्यक्रम अघि बढ्न सकेको छैन ।

नेपाल आउँदा आफ्नै कार
चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय वायु सेवाको विमानमा काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्नेछन् ।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर उपयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए । २०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । उनले सार्क शिखर सम्मेलनमा सहभागी हुन आउँदा समेत आफ्नै कार ल्याएपछि पाकिस्तानका कार्यकारीले पनि आफू चढ्ने कार आफैं ल्याएका थिए । अन्य कार भने भारतबाटै नेपालले भाडामा ल्याएको थियो । पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्न सक्ने कार छ । कतारले अनुदानमा दिएको कारबाहेक तीनवटा बुलेट प्रुफ कार पनि छन् ।