बन्दुक उठाउन तयारी गर्नुपर्दछ– महासचिव वैद्य

693
views

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनताको निम्ति आवश्यक परे फेरी बन्दुक उठाउन तयारी गर्नुपर्ने बताउनुभएको छ । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन क्रान्तिकारी युवा लिगले आज काठमाडौँमा आयोजना गरेको वृहत मार्च पासलाई संबोधन गर्दै यस्तो बताउनुभएको हो ।

महासचिव वैद्यले वर्तमान संसदिय व्यवस्थाका विरुद्ध आवश्यक परे जस्तो सुकै कदम चाल्न पनि तयार हुनुपर्ने बताउँदै युवाहरु एक हनुपर्ने बताउनुभयो ।

क्रान्तिकारी युवा लिग, नेपाल ३ नं. प्रदेशले आयोजना गरेको उक्त युवा मार्चपासलाई संबोधन गर्दै महासचिव वैद्यले मुलुकको राष्ट्रियता, जनजिविका र जनतन्त्रका लागि युवाहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

काठमाडौँको इन्द्रचोकमा भएको सभालाई संबोधन गर्दै महासचिव वैद्यले वर्तमान राज्य सत्ता, संविधान र संसदिय व्यवस्थाका विरुद्धमा आफुहरु रहेको उल्लेख गर्दै विगत १० बर्षे जनयुद्वको महान प्रक्रियालाई अन्त्य गर्नेहरु दलाल संसदिय भाषमा फसेको आरोप लगाउनुभयो ।

काठमाडौँमा भएको युवा मार्च पासले मुलुकमा नयाँ जनवादी व्यवस्थाका लागि उर्जा थपेको दाबी गर्दै महासचिव वैद्यले १० बर्ष संघर्ष गरेका सहयात्रीहरुले वलिदानीको भावनामाथी कुठराघात गरेको भन्दै यहि युगमा नयाँ क्रान्तिको सुरुवात हुने बताउनुभयो ।