अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि

912
views

एजेन्सी न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कानुनी सल्लाहकार रुडी गिउलिआनीले राष्ट्रपति ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्ससँगको यौन सम्बन्ध गोप्य राख्न निजी वकिल मिसेल कोहेनले तिरेको १ लाख ३० हजार डलर रकम ट्रम्पले भुक्तानी गरिदिएको बताएका छन् ।

निजी वकिल मिसेल कोहेनले पोर्न स्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले तिरिदिएको रुडीले बताएका हुन् । रुडीको भनाइसँगै अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि भएको छ ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनले बताए । सो कारोबार कानुनसम्मत भएको पनि उनले दाबी गरेका छन् ।

ट्रम्पको भुक्तानीबारे आफूलाई थाहा नभएको कोहनले बताइरहेका वेला रुडीले सो दाबी गरेका हुन् । पोर्न स्टार डेनियल्ससँगको सम्बन्ध गोप्य राख्न डेनियल्सलाई रकम दिएको ट्रम्पले हालसालै स्वीकार गरेका थिए ।

ट्रम्पसँगको सम्बन्ध गोप्य राख्न आफूलाई १ लाख ३० हजार डलर दिइएको डेनियल्सले बताउँदै आएकी छिन् । ‘सम्झौताअनुसार डेनियल्सलाई एउटा कानुनी फर्ममार्फत पठाइएको रकम राष्ट्रपतिले भुक्तानी गरिदिएका छन्,’ रुडीले भने । वकिलमार्फत डेनियल्सलाई दिएको रकम धेरै महिनापछि ट्रम्पले भुक्तान गरिदिएको उनले बताए ।

ढिलै भए पनि सत्यतथ्यको खुलासा भएको पोर्न स्टार डेनियल्सले बताएकी छिन् । ‘मसँगको अवैध सम्बन्ध गुपचुप राख्न ट्रम्पका वकिलले गरेको कारोबार कुनै दिन पर्दाफास हुने अनुमान गरेकी थिएँ, जुन सत्य साबित भयो,’ डेनियल्सको भनाइ उद्धृत गर्र्दै उनका वकिलले भनेका छन् ।

डेनियल्सले ट्रम्पले दिएको रकम अस्वीकार गरेपछि ट्रम्पसँगको सम्बन्ध गोप्य राख्न वकिल कोहेनले सन् २०१६ को निर्वाचनमा आफैँले रकम दिएका थिए । ।

न्युयोर्क टाइम्सका अनुसार डेनियल्सलाई दिएको रकमबारे ट्रम्पको अभियान र ट्रम्प अर्गनाइजेसन दुवैलाई थाहा नभएको र आफूलाई पनि भुक्तानी नदिइएको कोहेनले बताएका थिए । सन् २००६ मा ट्रम्पले डेनियल्ससँग यौन सम्बन्ध राखेका थिए ।

स्क्यान्डल हुने डरले गोप्य राख्न ट्रम्पले आफ्ना वकिललाई सम्झौता गर्न लगाएका थिए । सो गोप्य सम्झौतामा ट्रम्पले हस्ताक्षर नगरेकाले सम्झौता अवैध भएको भन्दै यसै वर्षको मार्चमा डेनियल्सले ट्रम्पविरुद्ध उजुरी गरेकी थिइन् ।

गोप्य सम्झौता भंग गरेको आरोप लगाउँदै ट्रम्पका वकिलहरूले डेनियल्ससँग २ करोड डलर क्षतिपूर्ति माग गर्ने तयारी गरेका छन् । ट्रम्पसँगको अनैतिक सम्बन्धको मुद्दा फिर्ता लिन लास भेगासका एक व्यक्तिले चेतावनी दिएको आरोप लगाउँदै डेनियल्सले ट्रम्पविरुद्ध उजुरी गरेकी छिन् ।