विदेशबाट फर्केर दुग्ध व्यवसायमा सफल

1386
views

धनकुटा । छिमेकी राष्ट्र भारतमा ११ वर्ष मजदुरी गरी फर्केका धनकुटा सिँधुवाका काशिनाथ निरौला स्वदेशमै दुग्ध व्यवसाय गरेका छन् । भारतको मेघालयमा सात वर्षको मजदुरीपछि अरुणाञ्चल प्रदेशको एक गाई फार्ममा चार वर्ष काम गरेका निरौलाले नेपाल आएर आफ्नै गाउँमा दुग्ध उद्योग खोलेका छन् ।

काशिनाथले को उद्योगमा दैनिक ११ जनाले रोजगारी पाएका छन् । अहिले दैनिक दुई लाख ६० हजार रुपियाँ बराबरको पाँच हजार लिटर दूधबाट दुग्धजन्य वस्तु उत्पादन गरेर दुई लाख ९० हजार रुपियाँभन्दा बढीको कारोबार गर्न सफल भएको निरौला बताउँछन् ।

२०६५ सालमा ४० हजार रुपियाँको लगानीबाट शिव शक्ति दुग्ध उद्योग सञ्चालन गर्दै आएका उनले हाल लगानी बढाएर एक करोड ५० रुपियाँ लाख पु¥याउन सफल भएका छन् । उनको नयाँ जीवनको मोड हो यो ।

बर्खाको छ महिनामा चार करोड ६८ लाख र हिउँदका छ महिनामा ४८ लाख रुपियाँसम्म गरी वर्षमा पाँच करोड १६ लाख रुपियाँभन्दा बढीको कारोबार गर्दा जीवनकै परिवर्तन भएके उनको भनाई छ ।

उनले उद्योग सञ्चालनसँगै दुग्धजन्य वस्तु बनाउने प्राविधिक सीप सिके । २०७१ सालमा लगानी थप गरेर ६२ लाखको लागतमा भीरगाउँ र सिंधुवामा एकैसाथ व्यवसाय सुरु गरे । अहिले फागुनदेखि असार साउनसम्मको छ महिना आफ्नो उद्योगको पूर्ण क्षमतामा दैनिक दुई सय केजी घ्यू, दुई सय केजी छुर्पी र माग अनुसार पनिर बनाएर बिक्री गर्दै आएका छन् ।

धनकुटाका पाँच वटा दुग्धजन्य उद्योगबाट वार्षिक ५७ मेट्रिक टन २९ करोड आठ लाख ७५ हजार रुपियाँ बराबरको दुग्धजन्य वस्तु जिल्लाबाहिर निकासी हुने जिल्ला पशु कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा धनकुटाबाट एक करोड २० लाख रुपियाँ बराबरको १६ मेट्रिक टन छुर्पी, ७१ लाख रुपियाँ बराबरको १३ मेट्रिक टन चिज, ७८ लाख रुपियाँ बराबरको १२ मेट्रिक टन घ्यू र २० लाख बराबरको २० मेट्रिक टन निकासी भएको छ ।

यस आर्थिक वर्षमा ५२ करोड ३३ लाख २० हजार बराबरको १३ हजार ८३ मेट्रिकटन दूध उत्पादन भएको थियो । उक्त उत्यादनमध्ये २९ करोड ४३ लाख ६८ हजार बराबरको छ हजार ५४२ मेट्रिकटन दूध जिल्लाबाहिर निकासी भएको कार्यालयका निमिक्त प्रमुख झविन्द्र मरासिनीले जानकारी दिए ।