बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र

1225
views

मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दी सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ ।

सडक डिभिजन कार्यालय बागलुङले एकदशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ । जिल्ला समन्वय समितिले कृषि सडक आयोजना अन्तरगत दरवाङ–ढोरपाटन जोड्ने सडकको ट्याक खोल्ने कामलाई तिब्रता दिएको छ ।

वि.स २०६७ मा दरवाङबाट सुरु भएको सडकको ट्याक निर्माणको काम बिम–ताकम हुदै मुनासम्म पु¥याइएको आयोजनाका प्राबिधिक कृष्ण रायले बताउनुभयो । उहाँका अनुसार दरवाङ देखि मुनासम्म १८ किलोमिटर ट्याक खुलेको सडक थप सात किलोमिटर विस्तार गरेपछि लुलाङ हुदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ ।

जिल्ला समन्वय समितिले यस वर्ष बिनियोजन गरेको ७२ लाख र गत वर्षको साठी लाख रुपैया बजेटबाट मालिका गाउँपालिका ७ बिमको साउँबोट बारी बगरदेखि ताकमसम्म पाँच किलोमिटर सडकको ट्याक खोल्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताउनुभयो ।

शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत आयोजनाले तिन किलोमिटर सडक निर्माण गरेको छ । शिवरात्रीखोला तथा साउँबोट र बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि बेनी देखि मुनासम्म सिधा सडक सञ्जालमा जोडिने छ ।

हाल दरवाङ देखि धारापानी ताकम हुदै मुना जोड्ने सडक प्रयोगमा छ । पश्चिम म्याग्दीको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको सडकलाई ढोरपाटनसम्म जोडेर मध्य पहाडी लोकमार्गको विकल्प बनाउने लक्ष्य लिइएको छ ।