विश्वकप–रसियाः मोराटा स्पेनिस टोली बाहिर

982
views

म्याड्रिड — चेल्सी स्ट्राइकर अल्भारो मोराटालाई हटाउँदै स्पेनले सोमबार विश्वकपका लागि अन्तिम टोली घोषणा गरेको छ । इंग्लिस प्रिमियर लिगमा निराशाजनक सिजन बिताउनुपरेको मूल्य मोराटाले चुकाउनुपरेको छ । स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुईले मोराटाको स्थानमा अग्रपंक्तिमा इगो अस्पास र रोड्रिगो मोरेनोसहित एट्लेटिको म्याड्रिडका डिएगो कोस्टा राखेका छन् । ‘जुन हिसाबमा हामीसँग प्रतिभा छ, त्यस हिसाबमा यो निर्णय लिन निकै कठिन थियो,’ लोपेटेगुईले भने, ‘हामीले राखेका तीन खेलाडी फरक प्रकृतिका छन् । सबै चार खेलाडी एकै किसिमका राख्ने हाम्रो योजना छैन । जो हामीले चाहेजस्ता थिएनन् ।’

चेल्सीका अर्का दुई खेलाडी मार्कोस अलोन्सो र सेस फाब्रिगासलाई पनि स्पेनको २३ सदस्यीय विश्वकप टोलीमा राखिएको छैन । मोराटालाई स्पेनको टोलीमा नराख्ने निर्णय अचम्म खालको थियो । तर २५ वर्षे मोराटोको खस्कँदै आएको प्रदर्शनका कारण स्तब्धपूर्ण निर्णय भने थिएन ।

चेल्सीमा आएयता उनले पहिलो ७ खेलमा ७ गोल गरेका थिए । तर पिठँयुमा लागेको चोटले उनको आत्मविश्वास गुमाइदियो । नयाँ वर्षयता उनले २२ खेलमा ३ गोलमात्र गर्न सके । त्यसको तुलनामा सेल्टा भिगोका असपास र भ्यालेन्सियाका मोरेनो उत्कृष्ट फर्ममा रहेका थिए । असपासले ला लिगामा स्पेनिस खेलाडीको रुपमा सर्वाधिक २२ गोल गरेका थिए ।

स्पेनले जुन १५ मा पोर्चुगलसँग खेलेर विश्वकप यात्रा सुरु गर्दा कोस्टाले पहिलो रोजाइमा खेल्ने अपेक्षा गरिएको छ । स्पिड भएका कारण अस्पास राम्रो विकल्प हुनसक्छन् ।

अलोन्सोलाई मार्चमा मात्र अर्जे्न्टिनासँगको मैत्रीपूर्ण खेलमा ‘डेब्यु’ गर्न दिइएको थियो । उनको स्थानमा आर्सनलका नाचो मोनरियलले पनि स्पेनको टोलीमा स्थान गुमाएका छन् । सर्जी बुस्केट्स, साउल निगुइज, कोके, थिआगो अल्कान्टारा, आन्द्रेस इनिस्टा, डेविड सिल्भा, इस्को, मार्को एसेन्सियो र लुकास भाजक्विज भएका कारण मिडफिल्डमा फाब्रिगास अटाउन सकेनन् ।

म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डी जियासँगै गोलपोस्ट सम्हाल्न पेपे रैना र केपा एरिजाबालागा राखिएको छ । चेल्सीका रक्षक सेजर एजपिलिकुइटा, मोनरिएल, डानी कार्भाजाल, अल्भारो ओड्रिओजोला, जेरार्ड पिके, सर्जियो रामोस, नाचो र जोर्डीलाई स्पेनिस रक्षापंक्तिको जिम्मा दिइएको छ ।

बलियो मानिएको बेल्जियमले मध्यपंक्तिका राड्जा नाइगोलानलाई विश्वकप टोलीमा समावेश नगरेको प्रशिक्षक रोबर्टो मार्टिनेजले जनाएका छन् । यसै महिनामात्र उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरूद्धको दोस्रो लेगमा दुई गोल गरेका थिए । तर ३० वर्षे उनी २८ सदस्यीय टोलीमै परेका छै्रनन् । समूह ‘जी’ मा रहेको बेल्जियमले इंग्ल्यान्ड, पानामा र ट्युनिसियासँग खेल्नेछ । एएफपी