उत्तम शान्ति पुरस्कार–शर्मालाई

1691
views

काठमाडौँ, १३ जेठ । यस वर्षको ‘उत्तम शान्ति पुरस्कार’ राजनीतिज्ञ तथा साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालमा निस्केका किताबमध्ये शर्माको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’लाई उक्त पुरस्कार प्रदान गरेको हो ।

प्राध्यापक तथा समालोचक गोपीकृष्ण शर्माले दीनानाथ शर्माको लेखनीले राजनीतिलाई अलिकति स्पर्श गर्दै जीवन र जगतलाई मिहीन ढंगले केलाउने गरेको बताए ।

२०६६ सालमा ‘जीवन र घाम’ निबन्ध संग्रह ल्याएर गैरआख्यान क्षेत्रमा हात हालेका शर्माका थुप्रै किताब प्रकाशित छन् ।

सो पुरस्कार २०४४ सालदेखि निरन्तर रूपमा प्रदान गरिँदै आएको छ । कार्यक्रममा पुरस्कृत व्यक्तित्व, लेखक शर्माले नेपाली व्याङ्मयलाई प्राथमिता दिएर यो पुरस्कारलाई निरन्तरता दिनु धेरै ठूलो कुरा भएको बताए ।

राजनीति सुक्खा, कठोर र कठिन पक्ष भएको र त्यसमा आफूले लामो समय बिताएको बताउँदै उनले भने, ‘अबका बाँकी दिन नेपाली साहित्यमै लगाउँछु ।’

आफ्नो पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनि’लाई पुरस्कारका लागि योग्य ठानिएकामा उनले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती ठाकुर पराजुली, राजनीतिज्ञ प्रदीप नेपाल, साहित्यकार उषा शेरचन, कथाकार डा. रवीन्द्र समीर, प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल र पदम गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।