एर्दोआनः ‘राष्ट्रनिर्मातापछिकै शक्तिशाली’

622
views

टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बताएका छन् । प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ’खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको’ बताए । तर उनले थप विवरण दिएनन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन् ।

शक्तिशाली
आधाभन्दा बढी मत हासिल गरेसँगै अर्को चरणमा प्रतिस्पर्धा गर्नबाट एर्दोआन जोगिएका छन् । एर्दोआनको एकेले पार्टी संसद्मा पूर्ण बहुमत ल्याउने देखिएको छ । चुनावको औपचारिक नतिजा चाहिँ शुक्रवार घोषणा गरिने छ । टर्कीको नयाँ संविधानले राष्ट्रपति एर्दोआनलाई व्यापक शक्ति प्रदान गरेको छ । टर्कीका यी शक्तिशाली व्यक्तिले प्रधानमन्त्री पद हटाउँदै, आफैँले कानून ल्याएर शासन गर्दै र वरिष्ठतम न्यायाधीशहरू चयन गर्दै ठूलो शक्तिको अभ्यास गर्नेछन् ।

पराजय
राष्ट्रनिर्माता आटाटर्कपछिकै उनी सबैभन्दा शक्तिशाली नेता भएको देखिएका छन् । चुनावी नतिजापछि बोल्दै एर्दोआनले भने, “टर्कीले सिङ्गो विश्वलाई लोकतन्त्रमा एउटा पाठ सिकाएको छ ।“

एर्दोआनका प्रमुख प्रतिद्वन्द्वी इञ्जाले सामाजिक सञ्जालमार्फत पराजय स्वीकारेका छन् । तर चुनाव निष्पक्ष नभएको उनले दावी गरेका छन् । बीबीसी